काठमाडौं, १ भदौ । हरेक नेपाली जन्मदै ६८ हजार ९ सय रुपैयाँ ऋण बोकेर जन्मन्छ । नेपाल सरकारले बाह्य ऋण बढाउदै लिएपछि अहिले हरेक नेपालीको भागमा ६८ हजार ९ सय सात रुपैयाँ ऋणको भार छ ।

सरकारको ऋण बढेर २० खर्ब ११ अर्ब रुपैयाँ नाघेको छ । अघिल्लो आर्थिक वर्षमा १७ खर्ब ३४ अर्ब रहेको ऋण गएको आर्थिक वर्ष २०७८/०७९ मा झन्डै तीन खर्बले बढेर २० खर्ब ११ अर्ब पाँच करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।

यसमध्ये वैदेशिक ऋण १० खर्ब २७ अर्ब ३० करोड रुपैयाँ र आन्तरिकतर्फको ऋण ९ खर्ब ८४ अर्ब २८ करोड रुपैयाँ रहेको छ । नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा नेपालको ऋण ४१ दशमलव ५ प्रतिशत पुगेको छ ।
गएको आर्थिक वर्षमा मात्रै सरकारले दुई खर्ब ३१ अर्ब आन्तरिक ऋण र एक खर्ब २२ अर्ब रुपैयाँ वैदेशिक ऋण लिएको छ ।