धादिङ, ३० साउन । धादिङको नीलकण्ठ नगरपालिकाले ४५ हजार रुपियाँ राहत वितरण गर्ने निर्णय गर्दा एक लाख ४१ हजार रुपियाँ भत्ता वितरण गरेको भेटिएको छ। विपत्मा परेका नागरिकलाई राहत वितरण गर्ने निर्णय गर्दा राहत रकमभन्दा तीन गुणा बढी रकम भत्तामा खर्च गरेको भेटिएको हो।
नगर कार्यपालिका मातहत रहने वातावरण तथा विपत् व्यवस्थापन समितिले आर्थिक वर्ष २०७७/७८ मा विभिन्न विपत्मा परेकालाई नगद ४५ हजार राहत वितरण गर्ने निर्णय गरेको थियो। उक्त राहत वितरण गर्ने निर्णय गर्दा बैठक भत्ताबापत समितिका सदस्यहरूलाई एक लाख ४१ हजार रुपियाँ खर्च गरेको महालेखा परीक्षकको कार्यालयको २०७९ को प्रतिवेदनले औँल्याएको छ।
तत्कालीन विपत् व्यवस्थापन समितिको संयोजकमा कार्यपालिका सदस्य विष्णुबहादुर नेपाली संयोजक र अन्य आठ सदस्य रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ। समितिका आठ सदस्यले एक वर्षभरिमा १८ वटा बैठक बसेको र छवटा बैठकमा मात्र राहत दिने निर्णय गरिएको थियो गोरखापत्रमा खबर छ। छ वटा बैठकबाट ४५ हजार रुपियाँ राहत वितरण गर्ने निर्णय गर्दा भत्ताबापत नै एक लाख ४१ रुपियाँ खर्च भएकाले राहतको तुलनामा प्रशासनिक खर्च नै तीन गुणा बढी देखिएको भन्दै यस्ता खर्चमा मितव्ययिता अपनाउन महालेखाले सुझाएको छ।











