काठमाडौं, १७ साउन। अर्थमन्त्रीका रुपमा जनार्दन शर्माले दोस्रो कार्यकाल थालेसँगै नयाँ अर्थसचिवको खोजी सुरु भएको छ । सचिव मधुकुमार मरासिनी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसँग सरुवा माग्दै मन्त्रालयमा हाजीर नभएपछि नयाँ अर्थ सचिव ल्याउन गृहकार्य सुरु भएको हो ।

आइतबारददेखि मरासिनी मन्त्रालयमा हाजीर भएका छैनन् । मरासिनीलाई सरुवा गर्ने लगभग पक्का छ । प्रधानमन्त्री कार्यालयले अर्थमन्त्री जनार्दन शर्मालाई ‘क्रसचेक’ गर्नसक्ने र सजिलो प्रवृत्तिको सचिवको खोजी गरिरहेको स्रोतको दावी छ ।
अहिले बैकुण्ठ अर्याललाई अब प्रमुख दाबेदारका रुपमा अघि सारिएको छ । हाल सञ्चार सचिव रहेका अर्याललाई प्रधानमन्त्री कार्यालयबाटै पहिलो प्राथमिकतामा राखेर अघि सार्न खोजिएको स्रोतले बताएको छ । सचिवहरु केवलप्रसाद भण्डारी, कृष्णहरी पुष्कर, तोयम राया र अर्जुनकुमार पोखरेल पनि अर्थसचिवको दाबेदारको लाइनमा छन् ।