दाङ, १३ साउन । दाङमा तीन वर्षमा १० हजार ३ सय ६४ युनिट रगत खपत भएको छ । आर्थिक वर्ष २०७६/७७ देखि आर्थिक वर्ष २०७८/७९ मा सो रगत खपत भएको रक्त सञ्चार केन्द्र घोराहीले जनाएको छ ।

रक्त संचार सेवा केन्द्र घोराहीका प्रमुख दीलिप न्यौपानेका अनुसार आर्थिक वर्ष २०७६/७७ मा जिल्लामा २ हजार ३ सय १ युनिट रगत संकलन भएकोमा २ हजार ७ सय ५१ युनिट रगत वितरण भएको थियो ।

त्यस्तै आर्थिक वर्ष २०७७/७८ मा जिल्लामा २ हजार ५ सय ४६ युनिट रगत संकलन भएकोमा २ हजार ५ सय ६१ युनिट रगत वितरण भएको छ । गएको आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा ५ हजार ५२ युनिट रगत खपत भएको छ न्यौपानेले बताए ।

जिल्लामा अहिले रक्ततत्व निर्माण गर्ने मेसिन जडान भएपछि रक्ततत्व निर्माण गर्न सहज हुनुका साथै रगत वितरणको संख्या बढाउन सहज भएको उनको भनाइ छ ।

यसैबीच, नेपाल रेडक्रस सोसाइटीले विहीबार जिल्लाका तीन क्षेत्रमा रक्तसञ्चार सेवा दिवस मनाएको छ । जिल्लाको घोराही, तुलसीपुर र लमहीमा बेग्ला बेग्लै कार्यक्रम गरी ५६औँ रक्त संचार सेवा दिवस मनाइएको हो ।