काठमाडौं, १० साउन । सरकारले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलाको उत्पादन तथा आयात र बिक्री वितरणमा रोक लगाएको छ ।
आउँदो भदौ १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलाको उत्पादन तथा आयात र बिक्री वितरण गरेको पाइएमा कारबाही गर्ने जनाएको छ ।
वन तथा वातावरण मन्त्रालय, वातावरण विभागले सूचना निकालेर ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलाको प्रयोग नगर्न आग्रह गरेको छ ।
सरकारले २०७८ साल असोज १९ मा राजपत्रमा सूचना निकालेर ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाएको थियो । तर अहिले पनि बजारमा यस्ता प्लास्टिक झोलाको बिक्री तथा प्रयोग हुँदै आएको छ । ४० माइक्रोनभन्दा पातलो झोलाले वातावरणमा प्रतिकूल प्रभाव पार्ने र जथाभाबी फाल्दा खोला तथा नदीमा प्रदूषण बढेको छ ।
ढल तथा पानीको निकासमा समस्या उत्पन्न गरेको छ । विभागले प्लास्टिक झोला प्रतिबन्धसम्बन्धी कार्ययोजना २०७८ कार्यान्वयन गर्न पनि अनुरोध गरेको छ ।











