काठमाडौं, ६ साउन । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति ल्याउने तयारी गरेको छ । बैंकका गभर्नर महाप्रसाद अधिकारीका अनुसार आफ्नो कार्यकालको तेस्रो मौद्रिक नीति शुक्रबार आज ल्याउने तयारी गरेका हुन् ।

गत आर्थिक वर्षको असार मसान्तमै मौद्रिक नीति ल्याउने तयारी गरिसकेका गभर्नरले एक साता ढिलाइ गरेर शुक्रबार सार्वजनिक गर्ने तयारी गरेका हुन् । आर्थिक वर्ष ०७९र८० को मौद्रिक नीतिलाई अन्तिम रूप दिन शुक्रबार बिहान आठ बजे सञ्चालक समितिको बैठक बोलाइएको छ ।

समितिले पारित गरेपछि शुक्रबार नै मौद्रिक नीति ल्याउने तयारीमा राष्ट्र बैंक छ । राष्ट्र बैंकको अनुसन्धान विभागले प्रस्ताव गरेको चालू आर्थिक वर्षको मौद्रिक नीति व्यवस्थापन समितिले पारित गरिसकेको छ । शुक्रबार बस्ने सञ्चालक समितिले मौद्रिक नीतिको मस्यौदालाई पारित गरेपछि सार्वजनिक हुनेछ ।

शुक्रबार बिहान सञ्चालक समितिको बैठक बोलाइएको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिए । उनले भने, ‘शुक्रबार बिहानै सञ्चालक समितिको बैठक बोलाइएको छ । शुक्रबार नै मौद्रिक नीति आउने सम्भावना बढेको छ ।’ बिहीबार गभर्नर अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई मौद्रिक नीतिका विषयमा ब्रिफिङ गरेका थिए ।