काठमाडौं, १६ बैशाख । स्थानीय तह निर्वाचनका लागि देशभरका पालिकाका विभिन्न पदमा दर्ता भएका विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारको नामावली प्रकाशन भएको छ । स्थानीय तह निर्वाचनमा ३५ हजार दुई सय २१ पदमा एक लाख ५३ हजार एक सय ६७ जनाको उम्मेदवारी दर्ता भएको छ ।
देशका सात सय ५३ वटै स्थानीय तहमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले ११ र १२ वैशाखमा दर्ता भएका उम्मेदवारीको सूची बिहीबार प्रकाशन गरेको निर्वाचन आयोगले जनाएको छ ।
बिहीबार राति आठ बजेसम्म आयोगको प्रणालीमा मेयर पदका लागि तीन हजार पाँच सय १८, अध्यक्षका लागि तीन हजार तीन सय ९२, उपमेयरका लागि दुई हजार एक सय ७४, उपाध्यक्षका लागि दुई हजार चार सय सात, वडाध्यक्षका लागि ३५ हजार तीन सय ८७, महिला सदस्यका लागि २६ हजार पाँच सय ५८, दलित महिला सदस्यका लागि २३ हजार नौ सय ५९ र सदस्यका लागि ५५ हजार सात सय ७२ जनाको उम्मेदवारी दर्ता भएको छ ।
आयोगको निर्वाचन कार्यतालिकाअनुसार १६ वैशाखको बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय छ ।











