काठमाडौं, ९ पुस । २७ मंसिरमा भएको कांग्रेसको १४ औँ महाधिवेशनबाट केन्द्रीय कार्यसमितिको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । मतपरिणामअनुसार नवनिर्वाचित केन्द्रीय कार्यसमितिमा सभापति शेरबहादुर देउवा समूहको दुईतिहाइ बहुमत आएको छ ।

निर्वाचित हुने १३४ सदस्यीय केन्द्रीय कार्यसमितिमा देउवा समूहका १०९ जना विजयी भएका छन् । दुई तिहाइका लागि निर्वाचित केन्द्रीय कार्यसमितिमा ९० जना भए पुग्छ । यसबाहेक केन्द्रीय कार्यसमितिमा कोइराला समूहका २२, सिंह समूहका दुई र कतै नखुलेका पूर्वमहामन्त्री शशांक कोइराला विजयी भएका छन् ।

बिहीबार खस–आर्यतर्फको १३, आदिवासी–जनजातितर्फको १५ र दलिततर्फको नौ पदको परिणाम आएपछि कांग्रेसको निर्वाचित हुने केन्द्रीय समितिले पूर्णता पाएको छ । यी तीन क्लस्टरबाहेक अन्यको मतपरिणाम यसअघि नै आइसकेको थियो ।