रोल्पा, ७ पुस । मौरी पकेट क्षेत्रको रूपमा चिनाउन रोल्पाको लुङ्ग्री गाउँपालिका–४ सालडाँडाका स्थानीयले समूह नै गठन गरी व्यावसायिक रूपमा मौरीपालन शुरू गरेका छन् ।

यसअघि परम्परागत रूपमा १र२ जनाले मात्रै मौरीपालन गर्दै आएकोमा अहिले गाउँका २५ घर मिलेर सामूहिक मौरीपालन व्यवसाय शुरू गरेको सालडाँडा अर्गानिक मौरीपालन समूहका सदस्य भक्तबहादुर गिरीले बताए । ‘अहिले मह उत्पादनमा भन्दा पनि मौरीको गोला विभाजनलाई प्राथमिकता दिएका छौं,’ गिरीले भने, ‘अहिलेसम्म गाउँमा मात्रै खपत हुने महलाई अत्यधिक उत्पादन गरी बजारीकरण गर्ने योजनामा छौं ।’

मौरीपालन समूहका सदस्यहरूले दाङ गएर घार उत्पादन तथा मौरी विभाजन सम्बन्धी तालिम लिएका छन् । अहिले १ सय ७५ घारबाट शुरू गरेको मौरीपालन व्यवसायबाट सिङ्गो गाउँलाई नै मौरी पकेट क्षेत्रको रूपमा विस्तार गर्ने योजना रहेको समूहका अध्यक्ष पुस्कर केसीको भनाइ छ ।

‘शुरूमा व्यक्तिगत रूपमा मौरीको घार वितरण गरेका थियौं,’ केसीले भने, ‘तर त्यो व्यावसायिक बन्न नसकेपछि अहिले सामूहिक रूपमा मौरीपालन थालेका छौं ।’ शुरुआतमा ७५ घार मौरी व्यक्तिगत रूपमा वितरण गरिएको थियो । तर त्यो त्यति प्रभावकारी नभएपछि अहिले समूहले हेर्नेगरी सय घार मौरी राखिएको छ । समूहका दुईजना सदस्यले दैनिक रेखदेख गर्नेगरी सामूहिक मौरीपालन शुरू गरेको अध्यक्ष केसीले बताए । व्यावसायिक मौरीपालनकै माध्यमबाट बेरोजगार समस्यालाई समाधान गर्ने समूहको उद्देश्य रहेको छ ।