इन्द्रेणी संवाददाता
दाङ, २ पुस । दाङको बंगलाचुली गाउँपालिकाले जिल्लामा सञ्चालित तीन ओटा सिमेन्ट उद्योगको चुनढुंगा उत्खनन्मा रोक लगाएको छ ।

गाउँपालिकाको बुधवार बसेको सर्वदलीय बैठकले ती सिमेन्ट उद्योगहरुले यहाँका नागरिकलाई स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारमाथि बारम्वार वेवास्था गरेको भन्दै घोराही सिमेन्ट उद्योग, सम्राट सिमेन्ट उद्योग र शुभश्री अग्नि सिमेन्ट उद्योगले गर्दै आएको चुनढुंगा उत्खनन्मा रोक लगाउने निर्णय गरेको हो ।

चुनढुंगा उत्खनन् क्षेत्रका नागरिकको जीवन रक्षाका लागि गाउँपालिकाले उद्योगले गर्दै आएको चुनढुंगा उत्खनन् कार्यलाई पुस १ गतेदेखि स्थगन गरेको गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले बताए । उद्योगहरुले विभिन्न समयमा चुनढुंगा उत्खननबाट हुने वातावरणीय प्रदूषणलाई न्यूनिकरण गर्न केही सम्झौता र निर्णय छन्, ती सम्झौता र निर्णयहरुको कार्वान्वयन गरी वातावरण प्रदूषण न्यूनिकरण गर्ने वातावरण तयार नपार्दासम्म उत्खनन् र ढुवानी कार्य स्थगन गरेको हो ।

लामो समयदेखि सो गाउँपालिकाका विभिन्न स्थानबाट घोराही सिमेन्ट उद्योग, सम्राट सिमेन्ट उद्योग र शुभश्री अग्नि सिमेन्ट उद्योगले चुनढुङ्गा उत्खनन् र ढुवानी गर्दै आएका छन् ।

नागरिकस्थरबाट पटक–पटक सिमेन्ट उद्योगले उत्पन्न गरेको समस्या समाधान गर्न आवाज उठेपनि विभिन्न चरणमा हुने बैठकको निर्णय र सहमति अनुसार उद्योगका उत्खनन् कार्य जारी राख्न दिने तर उद्योगले गरेको सम्झौता कार्यान्वयन नगर्दा गाउँपालिकाले उत्खनन् र ढुवानीमा रोक लगाउनु परेको गाउँपालिका अध्यक्ष वलीको भनाइ छ ।

उक्त क्षेत्रमा यी उद्योगहरुका दैनिक दुई सयभन्दा बढी टिप्परहरुले चुनढुंगा ढवानी गर्दै आएका छन् । टिप्परहरुलाई व्यवस्थित गरेर सञ्चालन नगर्दा यस क्षेत्रमा जाने सडक जिर्ण भनेको र धुलोले गर्दा सो क्षेत्रमा किसानहरुले लगाएको बालीनालीमा नोक्सानी पुग्नुका साथै वातावरण प्रदूषण भएका स्थानीयको गुनासो छ ।