इन्द्रेणी संवाददाता
रोल्पा, ३ मंसिर । दाङको घोराहीबाट छुटेको बस रोल्पा माडी गाउँपालिका–४ तार्केबाङमा हिजो बेलुका भएको बस दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ ।

दाङको घोराहीदेखि रोल्पाको थवाङ्का लागि छुटेकोे ना ३ ख ५५१८ नम्बरको बस शहीदमार्ग सडक अन्तरगत तार्केबाङ भन्नेठाउँमा सडकबाट माडी खोलामा खस्दा चालकसहित ४ जनाको घटनास्थलमै ज्यान गएको हो ।

बेलुका सवा ६ बजे भएको दुर्घटनामा रोल्पाको परिवर्तन गाउँपालिका–५ का ४० वर्षका चालक बिरमान बुढा, परिवर्तन–६ का ५० वर्षका कुमार पुन र परिवर्तन–१ का २९ वर्षका दिपक रोकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पका डिएसपी नरेशराज सुवेदीले जानकारी दिए । मृतक एक महिलाको भने अझै सनाखत हुन सकेको छैन् ।

यस्तै दुर्घटनामा परेका १९ जनाको उद्धार गरिएको छ । उनीहरु मध्ये ११ जनाको रोल्पा अस्पताल, ५ जनाको भैरहवामा उपचार भइरहेको छ, भने अन्य ३ जना घर्तीगाउँ स्वास्थ्य चौकीमा सामान्य उपचार पछि घर फर्किएका छन ।