काठमाडौं, २५ कार्तिक । नेपाल आयल निगमले दुई साता नबित्दै फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटरमा तीन–तीन रुपैयाँ बढाइएको छ ।
खाना पकाउने एलपी ग्यासमा त एकैपटक प्रतिसिलिन्डर ७५ रुपैयाँ बढाएर एक हजार पाँच सय ७५ पुर्याइएको छ । दुई साता नबित्दै निगमले बुधबार रातिबाट लागू हुने गरी पुनः मूल्य बढाएको हो ।
अब पेट्रोल प्रतिलिटर एक सय ३६ रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य एक सय १९ रुपैयाँ कायम गरिएको छ । त्यस्तै, आन्तरिक वायुसेवाले प्रयोग गर्ने हवाई इन्धन एक सय एक रुपैयाँ प्रतिलिटर निर्धारण गरिएको छ भने अन्तर्राष्ट्रिय उडान भर्ने विमानका लागि हवाई इन्धन आठ सय ९५ डलर प्रतिकिलोलिटर पुर्याइएको छ ।
आन्तरिक हवाई इन्धन प्रतिलिटर पाँच रुपैयाँ र बाह्य हवाई इन्धन प्रतिकिलोलिटर ४२ डलर वृद्धि गरिएको हो । निगमले यसअघि १२ कात्तिकमा पनि मूल्यवृद्धि गरेको थियो ।











