संखुवासभा, २७ भदौ । संखुवासभामा ९१ वर्षिय बौद्धमान कार्कीसहित ६ जनाको सामूहिक हत्या गरेको आरोपमा लोकबहादुर कार्कीलाई पक्राउ गरेको छ । प्रहरीले संखुवासभास्थित चैनपुर इलाका प्रहरी कार्यालयमा कार्यक्रम गरी कार्कीलाई सार्वजनिक गरेको छ । २६ वर्षीय कार्कीलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको थियो ।
लोकबहादुरले संखुवासभाको मादी गाउँपालिका–१ खोलागाउँका तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको विभत्स हत्या गरेको प्रहरीले बताएको छ । लोकबहादुरले हत्या गरेको स्वीकार गरिसकेको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका २६ वर्षीय लोकबहादुर कार्कीले मृतक तेजबहादुर कार्कीले सम्झाइबुझाइ गर्ने गरेका र त्यसलाई लोकबहादुरले आफ्ना छोरा विदेश गएर कमाए भनी काकाले आफूलाई हेपेको रूपमा बुझेका कारण हत्या गरेको वयानबाट खुलेको प्रहरीको भनाइ छ ।
लोकबहादुरले एउटै चिर्पटले ६ जनाको हत्या गरेको खुलेको छ । बिहानै आफूलाई खेताला बोलाउन घरमा आएका काकालाई पछ्याउँदै गएर बाटोमा चिर्पटले हानेको र काका ढलेको देखेर आएका काकी, भाउजु र दुई नाबालाक भतिजोरभतिजीलाई पनि त्यही चिर्पटले हानेर हत्या गरेको लोकबहादुरले बयान दिएका छन् । हजुरआमा अर्थात् तेजबहादुरकी आमालाई भने घरमै गएर हत्या गरी चिर्पट आगोमा हालेर फर्किएको लोकबहादुरले बयान दिएका छन् ।
गत सोमबार ९१ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय छोरा तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षीय नाति दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।











