तुलसीपुर, २० साउन । तुलसीपुरको बसपार्क क्षेत्रमा अनाधिकृत रुपमा सडकपेटी मिचेर राखिएका घुम्ती (ढयाब्ली), ठेला, गाडा हटाइएको छ ।
कोसेली घर र त्यस आसपास क्षेत्रमा सडक मिचेर राखिएका ढयाब्ली र ठेला डोजर लगाएर हटाएको तुलसीपुर उपमहानगरपालिका–५ का वडा अध्यक्ष वीरेन्द्र कुमार शाहले जानकारी दिए ।
करिब दुई हप्ता अघि कोसेली घर नजिकै एकै आकारमा बनाइएका ५ वटा नयाँ ढ्याब्ली रातको १२ बजे ल्याएर राखिएपछि तुलसीपुर उपमहागनरपालिकाले हटाउन सूचना जारी गरेको थियो ।
पाँच वटा ढयाब्ली राख्नेहरु करोडपति भएको भन्दै वडा अध्यक्ष वीरेन्द्र कुमार शाहले उनिहरुकै कारण दिनभरी फलफुल बेचेर साँझ बिहानको छाक टार्ने विपन्न वर्ग समस्यामा परेको बताए ।
“नयाँ ढयाब्ली राख्ने करोडपति हुन्, गरिब होइनन् । त्यही भएर उनीहरुले मध्यरातमा पाँच वटा ढयाब्ली एकैपटक ल्याएर सार्वजनिक स्थानमा जबरजस्ती राखे,” वडा अध्यक्ष शाहले भने, “हामीले हटाउन पटक पटक भन्यौ । मानेनन् । उनकै कारणले अन्य ठाउँमा बसेका विपन्न वर्गका मान्छेलाई समेत समस्यामा पारे । त्यस कारण उनीहरु गरिब होइनन् गरिब मारा हुन् ।”
३ दिने सूचना जारी गर्दै साउन १० गते सडकपेटी मिचेर राखिएका ढयाब्ली, ठेला, गाडा हटाउन सूचना जारी गरेपनि अटेरी गरेपछि उपमहागनरपालिको प्रहरीको सहयोगमा मंगलबार डोजर लगाएर हटाएको हो ।











