इन्द्रेणी संवाददाता
बुटवल, १९ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
काँग्रेससहितका विपक्षी गठबन्धन दलका सांसदहरुले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखसँग आग्रह गरेको भोलिपल्ट आज मङ्गलवार दिउँसो मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।
विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले मङ्गलबार दिउँसो प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।
लुम्विनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरलाई ३४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित बुझाइएको अविश्वास प्रस्तावमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरिएको छ । विपक्षी गठवन्धनले यस अघि पनि प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता गर्दा केसीलाई नै मुख्यमन्त्री प्रस्ताव गरिएको थियो ।











