काठमाडौं, १५ साउन । सरकारले चीनबाट खरिद गरेको ४० लाख भेरोसेल खोप शुक्रबार सम्ममा नेपाल आइपुगेको छ । पाँचौ पटक नेपाल वायुसेवा निगमको वाइडवडी ३३० जहाजले बेइजिङबाट थप खोप ल्याएसँगै ४० लाख खोप काठमाडौं आइपुगेको हो ।
शुक्रबार दिउँसो २ः०५ बजे खोप काठमाडौं आइपुगेको नेपाल वायुसेवा निगमका अपरेसन प्रमुख वरिष्ठ पाइलट दिपु ग्वार्चनले जानकारी दिए ।
निगमको जहाजले यसअघि चार कार्गो उडानबाट आठ लाख डोजका दरले ३२ लाख खोप ल्याइ सकेको उनले जानकारी दिए ।
सरकारले चीन सरकारसँग सरकार–सरकार (जिटुजी) मार्फत जम्मा ४० लाख डोज खोप खरिद गरेको थियो ।











