काठमाडौँ, ३० असार । सर्वोच्च अदालतले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश गरेलगत्तै कोटेश्वरमा बसेको विपक्षी गठबन्धनको बैठकमा आकर्षणको केन्द्र थिए– एमाले नेता माधवकुमार नेपाल । आफूहरूकै राजनीतिक र संवैधानिक संघर्षको बलमा प्रतिनिधिसभा सर्वोच्चबाट ब्युँतिएको भन्दै बैठकमा गठबन्धनका नेताहरू खुसी थिए र यसमा उनीहरूले नेपाललाई ‘नायक’ रूपमा प्रस्तुत गरे ।

thumb‘माधवजीको साहसिक निर्णय र ऐक्यबद्धताले प्रतिगमनकारी कदमविरुद्धको लडाइँमा जित हासिल गरेका छौँ । यो लडाइँमा हामीले प्रधानमन्त्रीका रूपमा देउवाजीलाई अगाडि सारेको भए पनि नायकचाहिँ माधव कमरेड नै हो,’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मात्र होइन, अन्य नेताले पनि यही शैलीमा नेपालको उच्च प्रशंसा गरे ।

अंकगणितकै हिसाबले हेर्ने हो भने प्रतिनिधिसभा पुनःस्थापना गरी विपक्षी दलका नेता देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश आउनुमा एमालेका झलनाथ खनाल–नेपाल समूहको निर्णायक भूमिका छ । नेपालको यही भूमिका अब देउवा सरकारको निरन्तरताका लागि हुन्छ कि हुन्न  ? सबैको नजर फेरि नेपालतर्फ सोझिएको छ ।

प्रतिनिधिसभा पुनःस्थापना र देउवालाई प्रधानमन्त्री बनाउने अदालतको परमादेश आएकै दिन नेपालले आफूलाई विपक्षी गठबन्धनबाट बाहिर निकालेका छन्  कान्तिपुरमा खबर छ। उनले आफ्नो पार्टीमा नयाँ राजनीतिक परिस्थिति आएको भन्दै गठबन्धनकै बैठकबाटै यस्तो उद्घोष गरेका थिए ।