काठमाडौं, १६ जेठ । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हालसम्मकै सर्वाधिक बजेट छुट्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष ०७८/७९ का लागि १६ खर्बभन्दा बढीको बजेट प्रस्तुत गर्दा स्वास्थ्य मन्त्रालयलाई एक खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ दिएको बताए । जुन कुल बजेटको ७ दशमलब ४५ प्रतिशत हो ।
कोरोना महामारीको समयमा पनि स्वास्थ्यको बजेट १० प्रतिशत पुग्न सकेन । अघिल्लो वर्ष ९० अर्ब ६९ करोड छुट्याएको थियो । सरकारले अहिले दिएको बजेट पनि कम भएको स्वास्थ्य अधिकारीहरू बताउँछन् । अर्थ मन्त्रालयले स्वास्थ्यलाई ६३ अर्बको हाराहारीमा रहेर बजेट बनाउन अनुरोध गरेको थियो । तर, स्वास्थ्यको अनुमानभन्दा दोब्बरले वृद्धि भएर बजेट आएको छ ।
बजेट भाषणमा अर्थमन्त्री पौडेलले कोभिड महामारीको रोकथाम, नियन्त्रण र उपचारको भरपर्दो व्यवस्था गरी सबै नेपालीको जीवनरक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताए । ‘कोभिडको रोकथाम, नियन्त्रण, उपचार र खोपको सुनिश्चितता गर्न बजेट अभाव हुन दिइनेछैन,’ पौडेलले भने । सबै सरकारी प्रयोगशाला तथा अस्पतालमा कोभिड–१९ को निःशुल्क परीक्षण र उपचारको व्यवस्था मिलाएको उनले बताए । नयाँ पत्रिकाबाट











