काठमाडौं, ५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नै राष्ट्रिय सभा उपचुनावका लागि निर्वाचन आयोगले बनाएको आचारसंहिता उल्लङ्घन गरेका छन् ।

भोली बिहीवार हुने मतदानका लागि निर्वाचन आयोगले जेठ ३ गते मध्यरातिदेखि नै कुनै पनि प्रकारका प्रचारप्रसार र निर्देशन दिन नपाउने भनेर मौन अवधि सुरु भएको जनाए पनि ओलीले पार्टीभित्र निर्देशन दिने नाममा पार्टीको चुनाव चिह्न र उम्मेदवारलाई भोट माग्दै अपिल पत्र सार्वजनिक गरेका छन् । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले अपिलमार्फत रामबहादुर थापा वादललाई भोट मागेका छन् ।

निर्वाचन आयोगले बुधवार निकालेको विज्ञप्तिमा भनिएको छ, ‘वाग्मती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचन प्रयोजनका लागि मिति २०७८ जेठ ३ गते राति १२ बजेदेखि निर्वाचनको मौन अवधि सुरु भएको छ । यस अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने, मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाएको हुनुपर्ने, एस।एम।एस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने, उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने भएको हुँदा उल्लिखित आचरणहरू पालना गर्न गराउनका लागि आयोग सबैसँग हार्दिक अनुरोध गर्दछ ।’

यसैबीच निर्वाचन आयोगले वाग्मतीमा प्रदेशमा बिहीवार हुने राष्ट्रिय सभा उपचुनावको सन्दर्भमा आचारसंहिता उल्लङ्घन भइरहेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

जेठ ३ गते राति १२ बजेपछि मौन अवधि सुरु भएको र यस अवधिमा कुनै पनि हिसाबले प्रचारप्रसार नगर्न सचेत गराउँदा पनि केही व्यक्ति र सञ्चारमाध्यमले आचारसंहिता उल्लङ्घन गरेको भन्दै आयोगले आचारसंहिता विपरीतका कार्य गर्ने व्यक्ति वा संस्थालाई कानुन बमोजिम कारबाही गर्न सक्ने कुरा प्रष्ट गर्दै आचारसंहिता विपरीत कार्य गर्नेको अभिलेख राख्नेसमेत आयोगले चेतावनी दिएको छ ।

नेपाल समूहले वादललाई भोट नदिने
यसैगरी नेकपा एमालेकै माधव नेपाल पक्षले रामबहादुर थापालाई भोट दिन नसकिने बताएको छ । आफूहरूको समर्थनमा खिमलाल देवकोटा उम्मेदवार बनेको भन्दै देवकोटालाई नै भोट दिने नेपाल पक्षले जनाएको छ ।

एमाले ओली पक्ष र नेपाल पक्षीय दुई खेमामा विभाजन हुँदा केपी पक्षले माओवादीबाट एमालेमा प्रवेश गरेका रामबहादुर थापालाई उम्मेदवारी घोषणा गरेको थियो भने नेपाल पक्षले खिमलाल देवकोटालाई उम्मेदवार बनाएको थियो ।

 

प्रधानमन्त्रीद्धारा जारी भएको अपिल

11

22