काठमाडौं, १९ चैत्र । निर्वाचन आयोगले सातवटै प्रदेशमा प्रदेश निर्वाचन कार्यालय उद्घाटन गरेको छ । प्रमुख निर्वाचन आयुक्त निदेशकुमार थपलियाले बुधबार भर्चुअल माध्यमबाट सातवटै प्रदेशका प्रदेश निर्वाचन कार्यालयको उद्घाटन गरेका हुन्।

election officeआयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार मन्त्रिपरिषद्को गत २६ माघको निर्णयानुसार सातवटै प्रदेशमा प्रदेश निर्वाचन आयोगका कार्यालय रहने गरी संगठन संरचना स्वीकृत भएको थियो । निर्वाचन आयोग ऐन, २०७३ को दफा १६ मा निर्वाचन आयोग आफैँले सम्पादन गर्नुपर्ने कामका लागि आवश्यकताअनुसार प्रदेश तथा तोकिएबमोजिमको अन्य स्थानमा कार्यालय स्थापना गर्न सक्ने व्यवस्था रहेको छ ।

सोही व्यवस्थाबमोजिम आयोगले गरेको सिफारिसका आधारमा हाल प्रदेश राजधानी रहेका मोरङ, धनुषा, मकवानपुर, कास्की, दाङ, सुर्खेत र कैलाली जिल्लामा साबिकका जिल्ला निर्वाचन कार्यालय खारेज भई आयोगको प्रादेशिक कार्यालय स्थापना गरिएको हो ।