
अध्यक्ष ज्यु हाम्रो पत्रीकामा यहाँलाई स्वागत छ !
धन्यवाद तपाइँ र तपाइको मिडियालाई ।
तपाइँ लमही जेसिज २०२० को अध्यक्ष,यो जेसीज कस्तो संस्था हो ?
जेसिज एउटा अन्तर्राष्ट्रिय संस्था हो जसले १८ देखि ४० बर्ष सम्मका युवाहरूको व्यक्तित्व तथा नेतृत्व बिकास गर्दै उनिहरुलाई सक्षम, आत्मनिर्भर तथा उद्यमशिल बनाई देशका बिभिन्न क्षेत्रमा असल तथा सफल नेतृत्व गर्न सक्ने जुझारु युवा उत्पादन गर्छ ।
जेसीज हुनेखाने र सुकिला मुकिलाहरुको मात्र संस्था हो भन्ने धारणा छ नि यसलाई तपाई के भन्नुहुन्छ ?
बाहिरबाट हेर्दा धेरैको तेस्तो सोचाई त देखिन्छ तर यो संस्थामा हरेक बर्गका व्यक्तिहरुले सदस्यता लिन पाउँछन । यसमा धनी र गरिब भनेर वर्गीय विभेद गरिदैन । अर्को कुरा यो संस्थामा मानिस सामाजिक हुनका लागि आवश्यक कुराहरु सिक्न जाने हो । र यसमा प्रवेश गरेपछि जोकोहिले पनि व्याबहारिक कुरा सिक्न सक्दछ ।

जेसीजको विशेषता चाँहि के हो ? यसलाई कसरी सामाजिक संस्था मान्ने ?
जेसीजको पहिलो विशेषता भनेको हरेक वर्ष नयाँ नेतृत्व जन्माउनु हो । त्यस्तै समाजमा सृजनात्मक तथा रचनात्मक क्रियाकलापमा सहभागी भएर समाजलाई नयाँ तथा अनुकरणीय शिक्षा प्रदान गर्दै आफुलाई समाज प्रति समर्पित गर्ने जेसीजको विशेषता हो । यसले सदैव विधिको शासनको वकालत गर्दछ । व्यक्तिको क्षमता अभिवृद्धिका लागि बिभिन्न तालिमहरु संचालन गर्नु पनि जेसीजको विशेषता हो । समग्रमा एक व्यक्ति, एक पद,एक कार्यकाल,विधि र बिधान संसदीय बैठक प्रणाली यसका विशेषता भित्र पर्दछन ।
जेसीजले कसरी विश्वबन्धुत्वको भावना जागृत गर्दै विधिको शासनको नीति अवलम्बन गर्दछ ?
हेर्नुहोस जेसिज एउटा अन्तराष्ट्रिय संस्था हो । यसमा विश्वका अधिकांस राष्ट्रको सहभागिता छ । यसले विश्वका जुनसुकै राष्ट्रका नागरिकहरु भएपनि अन्तराष्ट्रिय रुपमा बन्धुत्व र भाइचाराको सम्बन्ध राख्दछ । त्यसैगरी नेपालमा मात्र यसका करिब १६० शाखा छन । अनि हामी जेसिज आस्था भएका युबाहरुको सम्बन्ध सम्पर्क बन्धुत्वको भावनामा अडिग छ । त्यसैले यसले देश बिदेसमा रहने सबैसङ फेलोसिपको काम गरेको छ । यसरी जेसिजले विश्वबन्धुत्वको भावना जागृति गरेको छ ।
लमही जेसीजको गरिमामय अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएको १ बर्ष पुरा भयो आफ्नो कार्यकाल भरि अध्यक्षको तर्फबाट के कस्ता उल्लेखनीय कार्य गर्नुभयो जो समाजलाई प्रत्यक्ष प्रभाव पारेका छन् ?
सन् २०२० लाई नेपाल सरकारले जतिबेला नेपाल भ्रमण बर्षको रुपमा घोषणा गरेको थियो त्यतिबेला नै मैले लमही जेसिजको अध्यक्षको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गरेको थिए । बिडम्बना अध्यक्षको कार्यभार सम्हालेको निकट समयमै विश्व नै कोरोना भाइरसको संक्रमणबाट भयभित हुनपुग्यो । तर पनि यो चुनौतीलाई अवसरको रुपमा लिएर यसै संकटको बेलामा पनि आफ्नो ज्यान जोखिममा राखेर हामीले ज्याला मजदुरी गरि खाने मजदुरका घर परिवारलाई राहत स्वरुप खाद्यान्न बितरण गर्ने काम गर्यौ । बजारमा मास्क र सेनिटाइजरको अभाव उत्पन्न भएपछी कोरोना संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न निशुल्क मास्क र सेनिटाइजर बितरण गर्यौं । लमही जेसिजमा पहिलो पल्ट स्वास्थका लागि खेल भनेर साईकल रेस समेत गर्यौं । अर्को मलाई सबैभन्दा यो बर्ष गरेको काममा लमही नगरपालिकाका फोहर बेवस्थापनका ३ जाना कर्मचारीलाई हामीले सम्मान गरेका थियौ । जुन कार्य आज सम्म न नगर पालिकाले गरेको छ । न कुनै संघ संथाले गरेको । यस्तै यस्तै झन्डै ३ दर्जन जति कार्यक्रमहरु कोरोना संक्रमणका बाबजुद पनि गर्न सफल भयौं । यसैमा हामी सन्तुष्ट छौं ।
एउटा महिला भएर सामाजिक गरिमा बोकेको संस्थाको अध्यक्ष बनेर सामाजिक कार्यमा होमिदा पारिवारिक तथा सामाजिक केहि समस्या आएकी ?
नेपाल पुरुष प्रधान देश हो भन्ने प्रचलन छ । त्यसको बाछिटाहरु अझै पनि नेपाली समाजमा नआएका होइनन । मा पनि यहि समाजको एक सदस्य नहु काम गर्दा बाधा अबरोध नहुने कुरै भएन । तर मैले हरेक चुनौतिलाई अवसरको रुपमा लिएर काम गर्दै अगाडि बडे अनि परिवार र समाजको मन जित्न सफल भए ।
तपाइँलाई जेसिजको नेतृत्वमा पुग्न कठिन भयोकी एक बर्षको कार्यकाल पुरा गर्न कठिन ?
म बाल्यकाल देखि नै सामाजिक काममा बिशेष चासो राख्ने गर्दथे । त्यसैले मैले सामाजिक काम गर्ने प्लेटफमको खोजि गरिरहेको थिए । सामाजिक कार्यप्रति चासो भएपछी यो पद प्राप्ती मलाई कुनै कठिनाइ भएन साथसाथै जुनकाममा लागिन्छ त्यसमा डेभोटेड भएर लाग्ने मेरो आदत भएकाले कार्यकाल पुरा गर्न पनि कुनै असहज भएन ।
सामाजिक कार्य गर्दा के कस्ता समस्याहरु आउदा रहेछन ?
सामाजिक काममा धेरै कठिनाई आउछन नि । झन यो बर्ष त कोभिडको संक्रमणले गर्दा धेरै चुनौती आए । तर पनि म र मेरो टिम अविचलित भएर कर्ममा जुटिरहयो । यी जेसिजका मान्छेहरुले रोग सार्ने भए भन्ने गुनासाहरु नआएका पनि होइनन तर निरन्तर साधना हाम्रो प्राथमिकतामा पर्यो । तर असफल नै हुने गरेर त्यस्तो कुनै कठिनाई हामीलाई आएन ।
निकट भविस्यमै तपाइले आफ्नो कार्यकाल पुरागरी अध्यक्षको जिम्मेवारीबाट बाहिरिदै हुनुहुन्छ तपाइले जेसिजको नेतृत्वमा बसेर केके अनुभव गर्नुभयो जो समाजका लागि अनुकरणीय बनुन ?
सर्व प्रथम त मैले समाज बुझ्ने अवसर पाए । त्यसैगरी अनुसासन, समय ब्यबस्थापन ,नेत्तृत्व गर्न सक्ने आफ्नो पहिचान, बैठक प्रणाली, स्वनियम लगायतका थुप्रै जीवन उपयोगी कुराहरु सिक्ने अवसर प्राप्त गरे जो मेरालागि मात्र नभएर समाजका लागि प्रयोग गर्ने छु ।
अब जेसिज कै माथिल्लो निकायमा पनि नेतृत्व लिनका लागि पहल गर्ने कि तपाइको जेसिज यात्रामा यहि पुर्णबिराम लाग्छ ?
होइन यो मेरो समाज सेवाको सुरुवात मात्र हो । यात्रा यहि रोक्ने त कुरै हुदैन । तर बाँकी सबै समयको खेल हो त्यसैले पर्ख र हेर को नीतिमा छु ।

जादाजादै कुनै महत्वपूर्ण काम गर्न बाँकी रहयो कि जस्तो लाग्ने केहि छन् कि ?
खासमा आफ्नो योजना अनुरुप काम गर्न त केहि पनि पाइएन नि । तर समय यस्तै पर्यो । हाम्रो जेसिजमा १ बर्स को कार्यकाल रहने हुँदा अब बाकी गर्नमन लागेका काम नयाँ नेत्तृत्व सङ सहकार्य गरेर अगाडि बढ्नेछु ।
अन्त्यमा हाम्रो पत्रिका मार्फत जेसिजप्रेमी मनहरुलाई केहि भन्नु छ कि ?
अन्त्यमा म आफ्नो कार्यकाल सम्पन्न गरेर बाहिरिने लाग्दा तपाइले तपाइको मीडिया मार्फत मेरा कुरा राख्ने अवसर दिनुभएकोमा हृदय देखि निया धन्यवाद । अर्को कुरा तपाईहरु जस्ता समाज बुझेका युवाहरु जेसिजमा होमिन जरुरी छ । जेसिजको बारेमा बाहिरैबाट धारणा बनाउनु भन्दा पनि आउनुस हामी सङै हातेमालो गरेर यो संथामा योगदान गरौ । जो समाजका लागि योगदान हुनेछ । अनि बल्ल जेसिज के रहेछ भन्नेकुरा बुझ्नुहुने छ । साथसाथै तपाईं र तपाईको पत्रीकालाई फेरी एकपटक हृदय देखि नै धन्यवाद दिन चाहान्छु ।











