इन्द्रेणी संवाददाता
घोराही, ८ माघ । दाङ घोराही स्थित सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा भर्खरै सरुवा भएर आउनुभएका शिक्षालय प्रमुख अच्युतराज दाहालको स्वागत गरिएको छ ।
शिक्षालयमा एक औपचारीक कार्यक्रमको अयोजना गरि उहाँको स्वागत गरिएको हो । २०५५ सालमा प्राविधिक तथा व्यवसायिक तालिम परिषद् (सिटिईभिटी) मा सेवा सुरुवात गर्नुभएका दाहाल चितवन स्थित स्कुल अफ हेल्थ साइन्समा लामो समय प्रशिक्षक हुँदै झण्डै ८ वर्ष शिक्षालय प्रमुखको जिम्मेवारीमा, त्यसपछि नेपालगञ्ज स्थित भेरी प्राविधिक शिक्षालय प्रमुखको रुपमा कार्यरत हुनुहुन्थ्यो ।
शिक्षालयका उप–प्रमुख केशरमान बुढाथोकीको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा बोल्दै शिक्षालय प्रमुख दाहालले लुम्बिनी प्रदेशकै नमुना प्राविधिक शिक्षालयको रुपमा रहेको कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयको गुणस्तर बढाउन र भौतिक पूर्वाधार निर्माणमा आफ्नो प्राथमिकता रहने बताउनुभयो ।
शिक्षालय प्रमुख दाहाललाई स्वागत गर्दै उप–प्रमुख केशरमान बुढाथोकीले शिक्षालय स्थापना देखि वर्तमान समय सम्म शिक्षालयको अवस्थाका बारेमा अवगत गराउनुभएको थियो ।
यस शिक्षालयका संस्थापक शिक्षालय प्रमुख यादव सुवेदी भर्खरै सरुवा भएर सिटिईभिटी कर्णाली प्रदेशको प्रमुख भएर गए पछि दाहाल यहाँ आउनुभएको हो ।
शिक्षालय प्रमुख दाहालको स्वागतका लागि आयोजना गरिएको कार्यक्रमको सञ्चालन प्रशिक्षक सर्जन गौतमले गर्नुभएको थियो ।











