
काठमाडौं २६ पुस । संसद् विघटनविरुद्ध सडक आन्दोलनमा जाने निष्कर्ष निकालेको प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद् विघटनलाई अदालतले सदर गरे निर्वाचनमा जाने बताएको छ ।

गत १९ पुसको केन्द्रीय समिति बैठकबाटै संसद् विघटनविरुद्ध आन्दोलन घोषणा गरेको कांग्रेसले शनिबार प्रदेशसभा निर्वाचन क्षेत्रअन्तर्गत ३३० वटै क्षेत्रमा देशभर एकसाथ विरोध प्रदर्शन गरेको हो ।
काठमाडौं क्षेत्र नम्बर ५ को प्रदेश ‘ख’ बूढानीलकण्ठमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएको बताए । देउवाले सर्वोच्च अदालतमा सो विषयमा मुद्दा परेकाले अदालतले लिने निर्णय भने कांग्रेसले मान्ने बताए । यस विषयमा सर्वोच्च अदालतलाई कतैबाट कुनै प्रकारको दवाव दिन नहुने उनले बताए ।
‘कांग्रेसले बैठकबाटै भनेको छ, संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम हो, सो विषयमा अदालतमा मुद्दा परेको छ । अदालतमा विचाराधीन रहेको मुद्दामा अदालतले के निर्णय गर्छ, कांग्रेस कुर्छ, सदर गरे कांग्रेस निर्वाचनमा जान्छ,’ सभापति देउवाले भने ।
यस्तै पूर्वमहामन्त्रीसमेत रहेका नेता प्रकाशमान सिंहले संसद्मा विश्वासको मत लिन नसक्ने प्रधानमन्त्रीले निर्वाचन गर्नेमा शंका व्यक्त गरे । सिंहले आफ्नै निर्वाचन क्षेत्र काठमाडौं १ का ‘क’ र ‘ख’ दुवै प्रदेश निर्वाचन क्षेत्रका विरोध कार्यक्रममा सहभागी हुँदै सरकारले निर्वाचन गर्छु भने पनि निर्वाचन हुनेमा शंका व्यक्त गरे ।
कांग्रेस युवा नेता गगन थापाले संविधानविपरीत निर्णय गर्ने प्रधानमन्त्रीलाई संविधान लिएर खुलामञ्चमा पढ्न आउन आग्रह गरे । उनले आफ्नै निर्वाचन क्षेत्र काठमाडौं ५ को ‘क’ र ‘ख’को विरोधसभालाई सम्बोधन गरेका हुन् राजधानीमा खबर छ।










