काठमाडौं, २४ पुस । यसअघि प्रचण्ड नेपाल पक्षको नेकपालाई प्रतिवेदनको व्यहोरा नमिलेको भन्दै पत्र पठाएको निर्वाचन आयोगले यसपटक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै पक्षलाई सुधारसहितको प्रतिवेदन सात दिनभित्र आयोगमा पेस गर्न पत्राचार गरेको छ ।

KPPK-Blackoutप्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा बिहीबार बसेको आयोग बैठकले सो निर्णय गरेको हो । आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आयोगले नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गरेर अलग–अलग पत्राचार गरेको हो ।

पुस ५ मा प्रतिनिधि सभाको विघटन भएसँगै नेकपाभित्रको विवाद आयोगमा पुगेपछि आयोगले यो दोस्रो पटक दुवै पक्षलाई पत्राचार गरेको हो ।
आयोगले राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २५ को ४ अनुसार दुवै पक्षलाई पत्र पठाइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।