दाङ, ३० असार । स्थानीय स्वास्थ्य शासन सुदृढिकरण सहकार्यको खाकाअन्तर्गत स्वास्थ्य संस्थाहरुले गरेका विभिन्न क्रियाकलापहरुको बिहीबार (आज) अनुगमन गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत् आ.व. २०७१/०७२ र आ.व. २०७२/०७३ मा देउखुरीको गंगापरस्पुर र गढवा स्वास्थ्य चौकीद्वारा सञ्चालित क्रियाकलापहरुको अनुगमन गरिएको हो ।
गंगापरस्पुर र गढवा स्वास्थ्य चौकीले बाल स्वास्थ्य, मातृ स्वास्थ्य, परिवार नियोजन, स्वास्थ्य सेवाको गुणस्तर सुधारमा गरेको गतिविधि तथा वार्षिक समीक्षासम्बन्धी कार्यक्रमहरुको अनुगमन गरिएको थियो । स्थानीय स्वास्थ्य शासन सुदृढीकरण सहकार्यको खाका कार्यक्रमको कार्यदलका पदाधिकारीका तर्फबाट अनुगमन गरिएको हो ।
कार्यक्रममार्फत् गंगापरस्पुर स्वास्थ्य चौकीमा वर्थिङ सेन्टरमा प्रतीक्षालय निर्माण, आमा समूह, स्वयम्सेविका तथा स्वास्थ्यचौकीका कर्मचारीहरुलाई परिवार स्वास्थ्य, मातृ तथा शिशु स्याहार शिक्षा, स्वास्थ्य सेवामा गुणस्तर बढाउने विषयमा जागरण, तालिम तथा संस्थाका गतिविधि तथा विवरणहरुको जानकारीका लागि फ्लेक्स बोर्डहरु निर्माण गर्ने कार्य गरिएको गंगापरस्पुर स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक टीकाबहादुर बिएमले जानकारी दिनुभयो । उहाँले वर्थिङ सेन्टर केही प्राविधिक सामानहरु निकै पुरानो भएको, टेबलमा खिया लागेको भन्दै सम्बन्धित निकायले सहयोग गरिदिन आग्रहसमेत गर्नुभयो ।
त्यस्तै, गढवा स्वास्थ्यचौकीका जनस्वास्थ्य निरीक्षक लोकराज पौडेलले कार्यक्रमबाट न्यूमोनिया, झाडापखालाजस्ता स्वास्थ्य समस्याहरुको न्यूनीकरण र त्यसबाट बच्नका लागि अपनाइने विविध उपायका लागि आमा समूह, स्वयम्सेविका र सेवाग्राहीसम्म जागरण फैलाएको, गाउँघर क्लिनिकका लागि सहयोग गरेको, पोषण र खोपसम्बन्धी अन्तरक्रिया तथा संस्थाको गतिविधि, विवरण र नीति, कार्ययोजनाहरुलाई फ्लेक्सहरुमा सार्वजनिक गरेको जानकारी दिनुभयो ।
अनुगमन टोलीमा जिल्ला जनस्वास्थ्य कार्यालय दाङका जनस्वास्थ्य अधिकृत जनार्दन गौतम, तथ्याङ्क अधिकृत मदन पोख्रेल, जिल्ला शिक्षा कार्यालयका उपसचिव ऋषिराम रिजाल, जिल्ला विकास समिति दाङका सामाजिक विकास अधिकृत बालकृष्ण खनाल, घोराही नगरपालिकाका शाखा अधिकृत सुबोध रेग्मी, हेल्थ फर लाइफ स्वास्थ्य सुशासन कार्यक्रम अधिकृत सन्देश पौडेल र नेपाल पत्रकार महासंघ दाङका सहसचिव डिल्ली मल्ल रहनुभएको थियो ।
