काठमाडौं, २३ मंसिर । सगरमाथाको नयाँ उचाइ ८८४८ दशमलव ८६ मिटर कायम भएको छ । मङ्गलबार नेपाल र चीन बीचको संयुक्त बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यीको सहभागितामा दुई देशको संयुक्त भर्चुअल समारोहमार्फत सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरिएको हो ।
नेपालले आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी पहिलो पटक मापन गरिएको सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरेको हो । दुई वर्ष अघिदेखिको सर्वेक्षणबाट प्राप्त विवरण चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल भइ सगरमाथाको उचाइ सार्वजनिक गरिएको हो ।
चीनका राष्ट्रपति सी चिनफिङ गएको वर्ष नेपाल भ्रमणमा आएको बेला सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्ने सहमति भएको थियो । आधुनिक तथा परम्परागत दुवै विधि अवलम्बन गरी सगरमाथाको उचाइ मापन गरिएको हो ।











