देउखुरी, १५ मंसिर । दाङको राप्ती गाउँपालिकाको सिसहनियाँमा १५ शैय्याको अस्पताल निर्माणका लागि भवनको शिलान्यास गरिएको छ ।
सिसहनियाँ स्वास्थ्य चौकी नजिकै सार्वजनिक जग्गामा सोमवार १५ शैय्याको आधारभूत अस्पताल निर्माणको काम थालनि गर्न भवनको शिलान्यास गरिएको हो ।
अस्पतालको शिलान्यास सांसद गंगा चौधरीले गरेकी हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ५, १० र १५ शैय्या सम्मको अस्पताल नभएका स्थानिय पालिकाहरुमा अस्पतालको भवन बनाउने योजना अनुसार अस्पताल भवनको शिलान्यास गरिएको स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिए ।
अस्पताल भवनका लागि आवस्यक पर्ने जग्गाको रुपमा हाललाई स्थानिय नागरिकको सहयोग तथा सरोकारवालाहरुको सहयोगमा करिव १३ कट्ठा सार्वजनिक जग्गा उपलब्ध गराइएको र थप जग्गाको लागि समेत पहल गरिने वडा नं ५ का अध्यक्ष गोवर्धन रावतले जानकारी दिए ।
१५ शैय्याको आधारभूत अस्पताल दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयले सहमति दिने निर्णय गरिसकेको र अस्पतालको भवन निर्माणका लागी सरकारले सम्वन्धित स्थानीय पालिकालाई आंशिक बजेट समेत पठाइसकेकाले तत्काल भवनको लागल ईष्टिमेट, डिपीआर तथा सोयल टेस्टको काम अघि बढाइने गाउँपालिकाका इञ्जिनियर अशोक बेल्वासेले बताए । कार्यक्रममा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले सबैलाई स्वागत गरेका थिए ।











