काठमाडौं, १६ मंसिर । नेकपा सचिवालयको बैठक आज बस्दैछ । बैठकमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छ्ट्टा छुट्टै पेस गरेका प्रतिवेदनमा छलफल हुनेछ ।

cpn_meetingआज मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा बस्न लागेको केन्द्रीय सचिवालय बैठकमा ओली र प्रचण्डको प्रतिवेदनसहित दुवैतर्फबाट गरिएका पत्राचारको कार्यसूचीमाथि छलफल अघि बढ्ने भएपछि दुवै समूहले आन्तरिक छलफलबाट बटमलाइन बनाएका छन् ।

अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको बेग्लाबेग्लै राजनीतिक प्रतिवेदनसँगै पार्टी विवाद निर्णायक मोडमा पुगेपछि दुवै पक्षले अलग–अलग बटमलाइन अघि सार्ने तयारी गरेका छन् ।

निकासका लागि अहिलेसम्म विकल्पबारे दुवै पक्षका नेताहरूबीच औपचारिक र अनौपचारिक संवाद नभएका कारण प्रतिवेदनमाथिको छलफलकै क्रममा नेताहरूले आ–आफ्ना बटमलाइन प्रस्तुत गर्ने तयारी गरेका छन् ।

१३ मंसिरमा बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले पेस गरेको जवाफी प्रस्तावमाथि अर्का अध्यक्ष प्रचण्डले बुँदागत रूपमा जवाफ दिँदै छन् ।
ओली पक्ष प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदन खारेज भए संयुक्त प्रतिवेदन बनाउन सकिने पक्षमा उभिएको छ । तर प्रचण्ड–नेपाल पक्ष सचिवालय र केन्द्रीय कमिटीबाट निर्णय हुनुपर्ने र ओलीको राजीना दिनुपर्ने पक्षमा छन् ।