सल्यान, १५ मसिर । नागरिकलाई गुणस्तरीय र आधारभूत स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उद्देश्य अनुरुप सल्यानको कपुरकोट गाउँपालिकामा १५ शैय्याको अस्पताल निर्माण हुने भएको छ ।

DSC_0574अस्पतालको सोमबार गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष तथा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिमबहादुर सेनले शिलान्यास गरेका छन् । सरकारी स्वामित्व रहेको कपुरकोट ३ स्थित पाखापानी सामुदायिक वन समूह नजिकैको जमिनमा अस्पताल निर्माण हुने भएको हो ।

अस्पतालको शिलान्यास गर्दै अध्यक्ष सेनले आगामी दुई वर्ष भित्र नै अस्पताल निर्माण भइसक्ने गरी काम अगाडी बढाइएको बताए । स्वास्थ्य क्षेत्रमा यो निकै ठूलो र महत्वपूर्ण लगानी भएको जनाउँदै उनले गाउँमै १५ शैय्याको अस्पताल निर्माण गर्ने सरकारको निर्णयले देशवासीमा खुसी छाएको बताए ।

कार्यक्रममा कपुरकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुण दाहालले पालिकामा निर्माण हुने अस्पतालबाट आधारभूत उपचार संगै स्त्रीरोग, बालरोग र सामान्य शल्यक्रियासहितको सेवा उपलब्ध हुने विश्वास ब्यक्त गरे । यस्तै वडा नं २ का वडा अध्यक्ष मानबहादुर राना, वडा नं ३ का वडा अध्यक्ष मिन बहादुर सेन, वडा नं ४ का वडा अध्यक्ष हरिलाल पुन, वडा नं ६ का वडा अध्यक्ष हेरम बहादुर बुढाथोकी, नेपाल कम्युनिष्ट पार्टी कपुरकोटका अध्यक्ष घनश्याम शर्मा, नेपाली कांग्रेस कपुरकोटका प्रतिनिधी भुपबहादुर यरी लगायतले शुभकामना मन्तव्य गरेका थिए ।