इन्द्रेणी संवाददाता
दाङ, ९ मंसिर । दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा हवाई इन्धन डिपो स्थापना हुने भएको छ ।
डिपाको स्थायी संरचना निर्माणको लागि ठाउँसमेत छटौट भइसकेकाले काम तत्काल शुरू हुने नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले जानकारी दिएका छन् ।
करीव ६ करोड लगानीमा निर्माण हुन लागेको इन्धन डिपोमा दुईवटा ट्यांकी रहने छन् । ती ट्यांकीले दैनिक तीन वटा उडानलाई १५ दिनसम्म पर्याप्त इन्धन पुग्छ अनुमान गरिएको छ ।
डिपोलाई तत्काल सञ्चालन योग्य बनाउनका लागि ६ करोडको लगानी गरिएपनि यसलाई पूर्ण क्षमताका बनाउनका लागि करीव १० करोड लगानी आवश्यक पर्ने बताइएको छ ।
विमानस्थलको गेटको दक्षिण पट्टी रहेको जग्गामा ७५ मिटर लम्बाई र ३० मिटर चौडाईमा स्थापना गर्न लागिएको डिपोको काम अबको १५ दिनमा शुरु हुनेछ । डिपो स्थापनाका लागि करिब ५ देखि ७ रोपनी जग्गा आवश्यक पर्नेछ ।











