काठमाडौं, ८ मंसिर। अब प्रेसपास र अनलाइन नवीकरण जिल्ला हुलाक कार्यालय र क्षेत्रीय हुलाक निर्देशनालयबाटै हुने भएका छन् । सूचना तथा प्रसारण विभागले प्रेसपास र अनलाइन नवीकरण गर्ने अधिकार प्रदेशका जिल्ला हुलाक कार्यालय र क्षेत्रीय हुलाक निर्देशनालयलाई समेत दिएको हो ।

hulakविभागले आइतबार अधिकार प्रत्योजन गर्दै प्रदेशमा रहेका हुलाक कार्यालय र क्षेत्रीय हुलाक निर्देशनालयमार्फत पनि प्रेसपास र अनलाइन नवीकरण गर्ने व्यवस्था मिलाएको विभागका महानिर्देशक किरणराज शर्माले जानकारी दिएका छन् ।

विभागका अनुसार प्रदेश १ को हुलाक निर्देशनालय विराटनगर, प्रदेश २ को जिल्ला हुलाक कार्यालय धनुषा, बाग्मती प्रदेशको जिल्ला हुलाक कार्यालय मकवानपुरबाटै प्रेसपास र अनलाइन नवीकरण गर्ने व्यवस्था मिलाइएको हो ।

गण्डकी प्रदेशको हुलाक निर्देशनालय कास्की, लुम्बिनी प्रदेशको जिल्ला हुलाक कार्यालय रूपन्देही, कर्णाली प्रदेशको हुलाक निर्देशनालय सुर्खेत र सुदूरपश्चिमको जिल्ला हुलाक कार्यालय कैलालीमार्फत प्रेसपास नवीकरण र अनलाइन नवीकरण गर्ने व्यवस्था मिलाइएको विभागले जनाएको छ ।