नीति र व्यक्तित्वका हिसाबले बाराक ओबामाले तेस्रो कार्यकाल जितेका छन् । बाराक ओबामासँगको आत्मीय सम्बन्धकै कारण जो बाइडेन राष्ट्रपति बनेका हुन् । बाइडेनका अधिकांश नीति ओेबामाकै जस्तो मध्यमार्गी छन् । अमेरिकी जनताले ओबामाकालको भद्रता र स्थिरता बिर्सिन नसकेर उनका उपराष्ट्रपतिलाई जिताए । बाइडेनलाई ट्रम्पको कार्यकालमा भत्किएका कुरालाई पुनर्निर्माण गर्न निर्वाचित गराएको जस्तो देखिन्छ । त्यसैले बाइडेन परिवर्तनकारी शक्तिभन्दा पनि पछाडि फर्किने शक्ति हुन् । त्यसैले, उनको मुख्य चासो यथास्थिति भत्काउनेमा हुनेछैन ।

ओबामाको जितमा जस्तै बाइडेनलाई जिताउन वामपन्थीभन्दा अन्य शक्तिको प्रमुख हात रह्यो । बाइडेनले अघिल्लो महिना मायामीको एक टिभी च्यालनसँग बोल्ने क्रममा यो कुरा आफैँले भने, ‘म आफैँ समाजवादीहरूविरुद्ध लडेको मानिस हो । म मध्यमार्गी मानिस हुँ ।’ तर, यसपटक प्रगतिशीलहरू ट्रम्पको समयमा जस्तो चुप रहनेछैनन् । ओबामाले प्रत्येकजसो मोर्चामा राजनीतिको दक्षिणपन्थी हिस्साबाट ठूलो प्रतिरोध सामना गरे । दक्षिणपन्थीहरूविरुद्धको लडाइँमा ओबामा थप कमजोर होलान् भन्ने सोचेर प्रगतिशीलहरूले आफूलाई संयमित राखे ।

तर अमेरिकी प्रगतिशीलहरू अहिले आक्रोशित र दुःखी छन् । उनीहरू विगतको गल्ती दोहोर्‍याउने पक्षमा छैनन् । मेरा सहकर्मी थोमस एड्सलले डेमोक्रेटिक पार्टी खासमा तीन अलग पार्टी भएको बताएका थिए, जुन विश्लेषण एकदम सही छ । ती तीन समूहमा सबैभन्दा प्रगतिशीलहरू वामपन्थी, मझधारका ‘केही उदारवादी’ र बहुसंख्यक गैरश्वेत समुदाय छन् । अन्तिम समूह राजनीतिक रूपमा दायाँ देखिन्छ । संख्यामा सानो भए पनि सबैभन्दा चर्को आवाजप्रगतिशीलहरूको छ तर उनीहरू पक्षधरको नेता हालसम्म ह्वाइट हाउस पुगेका छैनन् ।

भविष्यमा बाइडेन र डेमोक्रेट्सलाई पार्टीको प्रगतिशील तप्काको साथको आवश्यकता हुन्छ । तर, यो तप्कालाई के पनि थाहा छ भने दक्षिणपन्थीहरूलाई तिनलाई संयमित हुनुपर्ने वर्गका रूपमा देखाइरहनेछन् । धेरै मझधारका डेमोक्रेट्सले सबैभन्दा प्रगतिशील तप्काको तर्क तथा नीतिगत महत्वाकांक्षाका कारण डेमोक्रेटिक पार्टीलाई क्षति पुगेको आरोप लगाउने गर्छन् ।

अघिल्लो हप्ता ‘द इन्टरसेट’ले छापेको समाचारअनुसार डेमोक्रेट्स पार्टीका भित्रियाहरूले एक भिडियो सम्मेलनमा यही कुरा चर्कोसँग उठाए । त्यस भेटघाटमा एकपछि अर्को मध्यपन्थीले पार्टीभित्रका प्रगतिशील पक्षको आलोचना गरे । प्रगतिशीलहरूका कारण कैयौँ तल्लो सदनका सिट गुमेको र सिनेटको बहुमत पनि धरापमा परेको तिनले आरोप लगाए ।

जो बाइडेनको जितले सामान्य अवस्थातर्फको फिर्तीलाई प्रतिनिधित्व गर्छ, तर उनलाई प्रगतिशीलहरूले अगाडि बढ्न दबाब दिइरहनेछन् ।

उता वामपन्थी पक्षधरको नेताका रूपमा उदाएका सिनेटर बर्नी स्यान्डर्सले अघिल्लो महिना ‘द क्वाड’ भनेर चिनिने प्रगतिशील चार सांसदहरू एलेक्जेन्ड्रिया ओकासियो कोर्टेज, इल्हान ओमर, आयना प्रेस्ली र रसिदा तलइबलाई प्रगतिशीलहरूको पहिलो प्राथमिकता ट्रम्पलाई हराएर बाइडेनलाई जिताउनु रहेको बताएका थिए । बाइडेनलाई जिताएपछि उनलाई फ्यांकलिन डी रुजबेल्टयताकै सबैभन्दा प्रगतिशील राष्ट्रपति बनाउन दबाब दिनु दोस्रो प्राथमिकता रहेको स्यान्डर्सले बताएका थिए ।

त्यस अवसरमा ओकासियो–कोर्टेजले स्यान्डर्सलाई ‘डेमोक्रेटिक पार्टीभित्र प्रगतिशील आवाजलाई समान्यीकरण’ गरेकोमा धन्यवाद दिइन् । उनले अगाडि व्याख्या गर्ने हिसाबले भनिन्, ‘लामो समयसम्म हाम्रा मागलाई उचित मानिँदैनथ्यो । पहिलेदेखि नै यी विचारलाई वर्जित मानिन्थ्यो । विगतमा प्रगतिशील विचार राख्नेहरूको आलोचना गर्ने र निसाना बनाउने गरिन्थ्यो ।’ प्रगतिशील मागहरू हराएर वा दबिएर जानेवाला छैनन् । न त प्रगतिशील माग बेवास्ता गरिनुपर्ने खालको छ ।

चार वर्षसम्म रिपब्लिकनले अमेरिकी लोकतन्त्रमाथि अन्धाधुन्ध आक्रमण गरे र अदालतमा पकड बनाएर पुस्तौँसम्म आफूलाई बलियो बनाउने प्रयास गरे । ट्रम्पको हारपछि यसमा केही रोक लागेको छ । डेमोक्रेट्सहरू पुनः एकता र सामान्य अवस्थामा फिर्तीको कुरा गर्न थालेका छन् । रिपब्लिकन आफूलाई युद्ध अवस्थामा रहेको ठान्न थालेका छन् । युद्धकै तयारी गर्ने हो भने डेमोक्रेट्सले बृहत्तर रणनीति सोच्नुपर्छ । डेमोक्रेट्सको रणनीति बदलिँदो जनसंख्या समूहमा धेरै निर्भर रहेको देखिन्छ । गैरश्वेत समुदायको जनसंख्याको हिस्सा बढेको र सो समूह डेमोक्रेट्स पक्षधर हुने तिनको आकलन रहने गरेको छ । यस्तो रणनीतिले पछि समस्या निम्त्याउन सक्छ ।

गैरश्वेत समुदायले डेमोक्रेट्सलाई दुईमध्ये एक मत दिएको सही हो । तर यो वर्ष ट्रम्पले सन् १९६० यता रिपब्लिकन उमेदवारले पाएकोमध्ये सबैभन्दा बढी गैरश्वेतहरूको मत पाए । तिनले ट्रम्पलाई भोट हाल्नुका धेरै कारण छन् । कति समाजवादी तानाशाहबाट उम्केर अमेरिका आइपुगेका ल्याटिन अमेरिकीहरू बाइडेनमाथि लागेको समाजवादी आरोपबाट तर्सिए ।

कति बाइडेनका एजेन्डाले पनि अफ्रिकी अमेरिकीहरूको मुद्दालाई नसमेटेकाले जसलाई मत दिए पनि हुने मनस्थितिमा पुगे । कति गलत सूचनाको सिकार भए । वा आम मतदातालाई जस्तै कतिलाई रिपब्लिकन पार्टी राम्रो लाग्यो । राजनीतिमा कुनै कुरा पनि स्थिर रहँदैन वा कुनै कुरामा पनि ढुक्क हुनुहँुदैन । डोनाल्ड ट्रम्पले इतिहासका कुनै पनि रिपब्लिकन उमेदवारले भन्दा बढी मत पाएका छन् ।

उनी भावी दिनमा पनि कन्जर्भेटिभ मतदातामाझ शक्तिशाली रहनेछन् । रिपब्लिकन पार्टीको असली नेतृत्व अहिले पनि उनै हुन् । उनले फक्स न्युजलाई प्रतिस्पर्धा दिन सक्ने वा त्योभन्दा पनि दक्षिणपन्थी विचार बोक्ने आफ्नै टेलिभिजन च्यानल खोल्न सक्ने अड्कलबाजी लगाइँदै छ । ट्रम्पका लागि टेलिभिजन व्यवसाय मन पर्ने क्षेत्र पनि हो । यदि उनले टेलिभिजन सञ्चालन गरे भने त्यो आगामी चार वर्ष बाइडेन प्रशासनमाथि प्रहार गर्ने औजार हुनेछ । टेलिभिजनमार्फत उनले कंग्रेसमा रिपब्लिकनलाई प्रभावित बनाउन सक्छन् । अझ उनी सन् २०२४ मा पुनः राष्ट्रपतिमा उठ्न पनि सक्छन् ।

लेखक न्युयोर्क टाइम्सका स्तम्भकार हुन्
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य