काठमाडौं, २३ कार्तिक । पछिल्लोपटक गत असोज १९ गते नेकपा सचिवालय बैठक बस्यो । मन्त्रिपरिषद् पुनर्गठनका विषयमा नेताहरूबीच मतभेद सुरु भइसकेकाले बैठक त्यति बेला उति लामो हुन सकेन । त्यसयता अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच विवादका इँटा थपिँदै गए, नेताहरू टाढिए ।

eeरोजगारीका लागि भारत धाउने क्रम र सरकारले कोरोनाका बिरामीको उपचार नगर्ने निर्णय गरेपछि दुःख पाउने नागरिकको संख्या पनि बढिरहेको थियो । यिनै विषयमा छलफल गर्न पार्टी प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले दुवै अध्यक्षलाई पत्र लेखेर बैठकको माग गरे । नेकपा विधानमा सचिवालय बैठक यति समयपछि बस्नैपर्छ भन्ने प्रावधान छैन, आवश्यकताका आधारमा बोलाउन सकिने भनिएको छ ।

कर्णाली प्रदेशमा देखिएको विवाद साम्य पार्न त्यहाँका नेताहरूलाई अध्यक्षद्वयले काठमाडौं बोलाएका थिए । तर त्यही बेला प्रधानमन्त्री ओलीले एक्लै मन्त्रिपरिषद् पुनर्गठन गरेपछि त्यही बहानामा दाहाल टाढिए । ओली र दाहालबीच संवादसमेत नभएपछि बैठकको माग गर्दै प्रवक्ता श्रेष्ठले पठाएको पत्र अलपत्र पर्‍यो । सचिवालयकै सदस्यहरूबीच यो हदको मनमुटाव हुन्छ भन्ने परिकल्पना नगरेरै होला, केन्द्रीय कमिटी र स्थायी कमिटी बैठकको माग गरेर पत्र लेखेपछि बैठक बोलाउनैपर्ने प्रावधान सचिवालय बैठकको हकमा गरिएको छैन ।

त्योबीचमा कर्णाली प्रदेशका नेताहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्ति र भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयलसँगको भेटबारे दाहाल पक्षीय नेताहरूले असन्तुष्टि जनाए । यही विषयलाई पनि समेटेर प्रवक्ता श्रेष्ठले कात्तिक ९ गते फेरि सचिवालय बैठकको माग गर्दै अध्यक्षद्वयलाई पत्र लेखेका थिए ।

त्यही पत्रका आधारमा दाहालले सचिवालय बैठक बोलाउन माग गरे पनि ओलीले तत्काल बैठक नबोलाउने अडान लिए । बैठक बोलाउने कि नबोलाउने भन्नेमै दुई अध्यक्षबीच लामो समय रस्साकस्सी चलेपछि शनिबार सचिवालय बैठक बोलाउनका लागि सहमति दिन आग्रह गर्दै प्रधानमन्त्री ओलीलाई अध्यक्ष दाहालसहित पाँच सचिवालय सदस्यले लिखित पत्र बुझाएका छन् । पार्टी कार्यालय धुम्बराहीमा करिब २ घण्टा लगाएर मस्यौदा गरिएको २ पृष्ठ लामो पत्रको शीर्षक ‘बैठक बोलाइपाऊँ’ भनेर राखिएको छ । पत्रमा पार्टीमा थुप्रै समस्या देखिएको र ती समस्याको जड प्रधानमन्त्री ओली नै भएको निचोडसहित त्यसलाई सल्टाउने बैठकका लागि सहमति जनाउन आग्रह गरिएको छ ।

बिहान करिब ११ बजेतिर गत स्थायी कमिटी बैठकले पार्टी कामका लागि ‘सेरोमोनियल’ मात्रै भूमिका दिएका अध्यक्ष ओलीलाई कार्यकारी अध्यक्ष दाहालले पत्र हस्तान्तरण गर्दै भनेका थिए, ‘मैले बैठकका लागि पटक–पटक आग्रह गर्दा तपाईं मान्नुभएन, औपचारिक बैठक बोलाए पार्टी फुटको घोषणा त्यहींबाट हुने धम्की दिनुभयो । त्यसैले साथीहरूसँग अनौपचारिक छलफल गरेर औपचारिक बैठकका लागि सहमति जनाउनुस् भन्न आएका हौं ।’

पत्र बुझ्नेबित्तिकै प्रधानमन्त्री ओलीले आफू कहिल्यै बैठकको विपक्षमा नभएको बताएका थिए । ‘तपाईं र मेराबीचमा जहिले पनि बैठककै कुरा भएको छ, उपयुक्त समयमा बैठक बोलाउन म सहमत नै छु तपाईं पार्टीको बैठकभन्दा गुटबन्दीमै रमाउहुन्छ,’ उनले भनेका थिए । ओलीले आफूनिकट सचिवालय सदस्यहरूलाई गरेको ब्रिफिङअनुसार पत्र पढिसकेपछि उनको कन्सिरी तातेको थियो । ‘पूरै कार्यकर्तालाई भड्काउने र दुर्भावना फैलाउने किसिमको निवेदन बोकेर आउनुभएको रै’छ,’ ओलीको भनाइ उद्धृत गर्दै उनीनिकट एक नेताले कान्तिपुरसँग भने, ‘दुईपाने पत्रमा कुण्ठा मात्रै पोखिएको छ, केन्द्रीय सदस्यहरूलाई सडकछाप भन्नुभयो, स्थायी कमिटी सदस्यहरूलाई हुल्लडबाज भन्नुभयो भन्नेजस्ता कुरा पनि लेख्या छन् ।’

बैठकमा सहभागी एक सचिवालय सदस्यका अनुसार ओलीले बाहिर जथाभावी गर्दै हिँडेर एकताविरोधी काम गरेको आरोप दाहाललाई लगाए । ‘तपाईं एकदम जाली, झेली हुनुहुँदो रहेछ, फट्याइँ कुरा गर्दै हिँड्नुहुँदो रहेछ, गुटका कुरा सुन्ने र त्यही लिएर मसँग बाझ्न आउने गर्नुहुन्छ,’ ओलीले दाहाललाई भनेका थिए, ‘यसरी त कतिन्जेलसम्म चल्छ रु’ दाहालले पनि गुटबन्दी ओलीले नै गरेको आक्षेप लगाए । ‘म जाली हो भने तपाईं महाजाली, महाझेली र महाफटाहा हो, जुम मिटिङ गर्दै तपाईं हिँड्ने, स्थायी कमिटी बैठक तपाईंले नमान्ने, आफू खुसी निर्णय गर्दै हिँड्ने अनि म गुटवादी हुने रु’ उनले कार्यकारी अध्यक्षको हैसियतमा आफूले अहिले बैठक बोलाउन सक्ने भए पनि पार्टी एकतामा अप्ठ्यारो नपरोस् भनेर मात्रै सहमतिका लागि भन्न आएको बताएका थिए ।

स्रोतका अनुसार ओली र दाहाल दुवैले एकअर्कालाई फुटपरस्त र गुटवादीको आरोप लगाएका थिए । दाहालले भदौ २९ मा अन्तरपार्टी निर्देशन जारी गर्दा नै ओलीले आफैं कार्यकारी अध्यक्ष हो भनेपछि आफूहरूबीच मतभेद भएको बताएका थिए । ‘तपाईंले स्थायी कमिटीको बैठक पहिलेदेखि नै मान्दिनँ भन्नुभएको थियो, म नै कार्यकारी हुँ भनेर दम्भ देखाउनुभएको थियो,’ दाहालले ओलीसँग भने, ‘मैले स्थायी कमिटी बैठकको स्पिरिट नमान्ने भए फेरि बैठक बोलाऔं भनेपछि हच्किनुभएको हो, फेरि त्यस्तै गर्नुभएको छ ।’ त्यसपछि ओलीले ‘म नै कार्यकारी अध्यक्ष हुँ’ भनेका थिए । ‘पार्टीको निर्णय मैले मान्दिनँ भनेको छैन,’ ओलीले दाहालसँग भने, ‘तर बहुमतका बलमा हुने निर्णय मलाई मान्य छैन ।’ बैठक स्रोतका अनुसार शनिबार ओली र दाहाल आपसमा आक्रोशित र अरू सदस्यहरूसँग नरम भएका थिए । दाहालसँग एक–एक कुरामा सवालजवाफ गरेका ओलीले अरू नेताहरूले बोल्दा भने मुन्टो मात्र हल्लाए । एकपटक प्रवक्ता श्रेष्ठलाई ‘तपार्इ्रं पनि प्रवक्ता दायरा नाघ्नुहुन्छ’ भन्नुबाहेक उनले अरू सदस्यलाई केही भनेनन् । कान्तिपुरबाट