इन्द्रेणी संवाददाता 

मकवानपुरको थाहा नगरपालिकाको ११ नं. वडा कार्यालयले वडाध्यक्षका बाबुको सालिक बनाएको छ । थाहा नगरपालिका–११ नम्बरका वडाध्यक्ष किरणमान बलले वडा कार्यालयमा आफ्नो बुबा अष्टमानको सालिक निर्माण गरेका हुन् । थाहा नगर– ११ टिष्टुङ, नौखण्डेस्थित वडा कार्यालयअगाडि निर्माण गरिएको सालिकको अनावरणसमेत गरिएको छ । थाहाको टिष्टुङ क्षेत्रको पहिचानका लागि पूर्वजनप्रतिनिधिसमेत रहेका अष्टमानको योगदानको कदर गर्दै सालिक निर्माण गरिएको हो ।

थाहा ११ र १२ नम्बर वडा कार्यालयले संयुक्त रूपमा अष्टमानको सालिक निर्माणका लागि २८ कात्तिक २०७६ मा प्रस्ताव पेस गरेको थियो । प्रस्ताव पेस गरेको करिब एक वर्षमा ११ लाख लागतमा अष्टमानको अर्धकदको सालिक निर्माण गरिएको हो । अष्टमान जनपक्षीय प्रधानपञ्च तथा तत्कालीन टिष्टुङ गाउँ विकास समितिका अध्यक्षसमेत रहेको थाहा नगरपालिका प्रमुख लवशेर विष्टले बताए ।

१४ पुस २००२ मा जन्मिएका अष्टमान ०४३ देखि ०४६ सम्म तत्कालीन टिष्टुङ पञ्चायतको प्रधानपञ्च थिए । बहुदल स्थापनापछि ०४९ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट गाविस अध्यक्षमा निर्वाचित उनी आठ वर्ष भारतीय सेनामा काम गरेर आएकाले गाउँमा ‘लाहुरे’ उपनामबाट परिचित थिए ।

स्पष्ट वक्ता, निडर स्वभाव, अत्याचारविरोधी र विकासको अभियानकर्मीका रूपमा उनले सामाजिक काममा आफूलाई संलग्न गराएको नगरप्रमुख विष्टले बताए । उनकै सक्रियतामा ०४३ सालमा तत्कालीन साना किसान विकास आयोजना कार्यक्रमअन्तर्गत गाउँमा कुटानी–पिसानीको मिल स्थापना भएको थियो ।  यस्ता विविध कालखण्डमा उनको योगदानको कदर गर्दै सालिक निर्माण गरेको विष्टको दाबी छ ।

सालिक अनावरण गर्दै सांसद विरोध खतिवडाले अष्टमानले दुर्गमको विकासमा अतुलनीय योगदान दिएको बताए  । उनले उनको सालिक निर्माण गर्ने समयमा उनकै छोरा वडाध्यक्ष हुनु संयोग मात्र भए पनि बुबाको योगदानलाई सम्झेर सबैको सहमतिमा निर्माण गरिएको दाबी गरे । टिष्टुङ क्षेत्रलाई हाल प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजनाहरू अघि सारिएको नगरप्रमुख विष्टको भनाइ छ ।