इन्द्रेणी संवाददाता
काठमाडौं, १७ कार्तिक । अस्पतालहरुले कोरोना संक्रमितको उपचारका लागि धमाधम धरौटी लिन शुरु गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचारका लागि धरौटी नलिन सरकारी अस्पताललाई निर्देशन दिएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले धरौटीसम्बन्धी सूचना निकाल्ने सबै अस्पताललाई स्पष्टीकरण सोधिएको जानकारी दिँदै धरौटी नलिन निर्देशन दिएको बताए ।
मन्त्रालयले २ कात्तिकमा विपन्न, अशक्त, अति अपांगता भएका, ७० वर्ष नाघेका ज्येष्ठ नागरिक र फ्रान्टलाइनमा खटिएकाहरूमा लक्षण देखिए मात्र परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो । अन्य संक्रमितले भने आफ्नै खर्चमा उपचार गर्नुपर्ने मन्त्रालयले निर्णय गरेको थियो ।
मन्त्रालयको निर्णयअनुसार अस्पतालहरूले संक्रमितको दैनिक उपचार शुल्क तोकेर धरौटी रकम जम्मा गर्न लगाउन थालेका छन् । सरकारले कोरोना संक्रमितको उपचार खर्च नदिने भनेपछि केही अस्पतालहरुले २ लाखसम्म धरौटी लिदै आएका थिए ।











