तिर्थराज ज्ञवाली
देउखुरी, ८ असोज । राप्ती गाउँपालिका वडा नं. ६ सगरापुरकी सरिता चौधरीले धानको उत्पादन बढाउदै कृषि पेशाबाट पनि थोरै जग्गामा राम्रो उत्पादन दिनका लागि स्वर्गद्धारी कृषक समूहका आवद्ध भइन् । ८ कट्ठामा भिएनआर २२४५/२२३३ जातको धान लगाइन्, कृषि प्राविधिकको नियमित सल्लाह र रेखदेखमा हेर्नलायक धान फल्यो । विगतका भन्दा राम्रो र धेरै धान फलेको देखेर उनी खुसीको सीमा नै रहेन ।
राप्ती गाउँपालिकाकै वडा नं. ४ जनकपुरका नमुना कृषक समूहका सदस्यहरु पनि हर्दिनाथ वर्णशंकर १ र युएस ३८२ नामको हाईब्रिड धान लगाएर हेर्न लाए धान फलेपछि खुसी भए । देउखुरी उपत्यकामा पनि मसिनो हाईब्रिड धानको उत्पादन सुरु गर्नका लागि किसान परियोजना कृषकका घरघरमा पुगेसंगै यो खालको परिवर्तन आएको हो ।
माथि उल्लेख गरिएका कृषकहरु जस्तै पछिल्लो समय सुपर चाइना ६०१ लगायतका धानको पहिलो खेती गराउन र आम्दानी तथा उत्पादनमा बृद्धि गराउने उदेश्यका साथ राप्ती गाउँपालिकामा ज्ञानमा आधारित एकिकृत दिगो कृषि परियोजना किसान २ नेपाल र कठाहामा रहेको चौधरी राइस मिलको सहकार्यमा काम भइरहेको छ ।
कृषकको आम्दानीसंगै कृषि उत्पादनमा बृद्धि गर्न हामीले नयाँ हाईब्रिड धान खेतीको उत्पादन सुरु गरेको छौ, धान काट्ने समय हुदासम्म राम्रो र उत्साहित उत्पादन भएको ज्ञानमा आधारित एकिकृत दिगो कृषि परियोजना किसान २ नेपाल चौधरी राइस मिलका ब्यवस्थापक स्यामेश चौधरीले बताए ।
उन्नत धान खेतीको अवस्थाको बारेमा बुधवार राप्ती गाउँपालिका उपाध्यक्ष, वडा नं. ४ र ६ का अध्यक्षहरु, ज्ञानमा आधारित एकिकृत दिगो कृषि परियोजना किसान २ नेपाल, चौधरी राइस मिल, कृषक, कृषि प्राविधिक, पत्रकार टोलीले धान खेती संयुक्त रुपमा अनुगमनसमेत गरिएको छ ।
देउखुरी उपत्यकाका राप्ती गाउँपालिका, लमही नगरपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा करिव २ हजार कृषकलाई आवद्ध बनाएर २०० हेक्टर खेतमा मसिनो हाईब्रिड धानको उत्पादन गर्ने लक्ष्यसहित ज्ञानमा आधारित एकिकृत दिगो कृषि परियोजना किसान २ नेपाल, चौधरी राइस मिलले काम गरिरहेको ब्यवस्थापक स्यामेश चौधरीले बताए ।
नेपाल सरकारले विदेश बाट आयातहुने मसिनो चामललाई नेपालमै उत्पादन गर्ने उदेश्यका साथ मसिनो हाईव्रिड धान हर्दिनाथ वर्णशंकर १, यु एस ३८२, भि एन आर २२४५ र २२३३, यु इस ८०३, यु यस ८०३ को विउ उत्पादन गरि कृषकलाई परियोजनामार्फत वितरण गरिएको हो ।
विगतमा अन्य देशबाट आयात हुने मसिनो चामलको आयात परियोजनाको कार्यक्रम मार्फत कम हुने र हाम्रै नेपाली कृषकहरुले धेरै फल्ने, रोग कम लाग्ने र खादा स्वादिलो हुने धान चामलको उत्पादन गर्न उत्साहित हुने कृषि परियोजना किसान २ की एरिया संयोजक सुधा मिश्रले जानकारी दिए ।
राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, वडा नं ४ र ६ का वडा अध्यक्ष विष्णुबहादुर घर्ती क्षेत्री, बेदप्रसाद चौधरी, कृषि शाखा प्रमुख महेश अधिकारी, किसान परियोजना २ का क्लस्टर विजनेश म्यानेजर भास्कर गौतम, एग्रीक्लचर प्रोडेक्टीङ एण्ड मार्केटिङ म्यानेजर नाथुप्रसाद चौधरी, संयोजक सुधा मिश्र, कृषि तथा बजार प्राविधिक सरस्वती केसीको सहभागीता रहेको धान बाली तथा धान खेतीको अनुगमन गर्नुको साथै कृषकहरुसंँग भेटघाट समेत गरिएको थियो।











