घोराही, २९ असार । लेखक संघ दाङले बुधवार एक कार्यक्रमको आयोजना गरी २०३ औं भानुजयन्ती मनाएको छ । लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले नेपाली भाषा र साहित्यमा आदिकवि भानुभक्तको महत्वपूर्ण योगदान रहेको चर्चा गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवं प्रेसकान्सिल नेपालका पूर्वअध्यक्ष नारायणप्रसाद शर्माले नेपाली भाषा र साहित्यमा अतुलनिय योगदान बताउनुभयो । सो अवसरमा प्रमुख अतिथि शर्माले नित्यानन्द शर्माले लेख्नुभएको गीती संग्रह ‘मानस गीत’ को विमोचन गर्नुभएको थियो ।
लेखक संघका उपाध्यक्ष गोविन्द पौडेलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा विशिष्ठ अतिति प्राज्ञ उत्तमकृष्ण मजगैयाँ, राप्ती साहित्य परिषदका अध्यक्ष पुरुषोत्तम खनाल, सल्लाहकार गिरिराज शर्मा, लेखक संघका पूर्वअध्यक्ष शंकर पौडेल, प्रलेश दाङका अध्यक्ष शरद अधिकारी, साहित्यकारहरु नारायण नेपाल, गोविन्दप्रसाद पौडेल, दुर्गाप्रसाद अधिकारी, हरिप्रसाद गौतम, कमला रिजाल, नुम घर्तीलगायतले बोल्नुभएको थियो भने विभिन्न साहित्यक रचना प्रस्तुत गरिएको थियो ।
यसैबीच भानु जयन्तीको अवसरमा दिपशिखा उच्च माविमा कविता प्रतियोगीता सम्पन्न भएको छ । प्रतियोगितामा विमा देवकोटा प्रथम, रोषन पौडेल द्धितीय, सपना अधिकारी तृतीय र ओजस्वी अधिकारी सान्तोना हुनुभएको छ । शिक्षक दीपेन्द्र पोख्रेलको अध्यक्षता तथा प्रिन्सिपल सन्तोषकुमार रेग्मीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राम थापा, धनबहादुर विसीलगायतले बोल्नुभएको थियो ।