इन्द्रेणी संवाददाता
काठमाडौं, ३१ भदौ । कहिले नाकाबन्दी त कहिले विभिन्न दैनिक उपभोग्य बस्तुमा प्रतिवन्द लगाउदै आएको भारतले फेरि प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । नेपालमा प्याज निर्यातमा प्रतिवन्ध लगाएपछि नेपाली बजारमा कालोबजारी शुरु भएको छ ।

Onionचाडपर्व नजिकिदै गर्दा लगाइएको प्रतिबन्धका कारण नेपाली बजारमा प्याजको मूल्य समेत बढ्दै गएको छ । व्यापारीले आफूखुशी मूल्य तोक्न थालेका छन् ।

भारतले निर्यातमा प्रतिबन्ध लगाउनु केही दिनअघिदेखि नै नेपालमा प्याजको मूल्य बढ्दै गएको थियो । कालीमाटी फलफूल तथा तरकारी बजारको दैनिक मूल्यसूचीअनुसार गत १५ दिनमा प्याजको मूल्य करीब ८९ प्रतिशतले वृद्धि भएको छ । केही दिनमै प्याजको खुद्रा मूल्य प्रतिकेजी १०० रुपैयाँ पुगेको छ ।

भदौ १६ गते थोकमूल्य प्रतिकिलो ४२ रुपैयाँ पर्ने प्याज त्यसयता मूल्य बढेर प्रतिकिलो ७५ रुपैयाँ पुगिसकेको छ । नेपाल प्याज आयातका लागि ९९ प्रतिशत भारतमै निर्भर छ ।

यसैबीच प्याजमा कालोबजारी भएको गुनासो पाएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीले कालीमाटी तथा बल्खु तरकारी बजारको स्थलगत अनुगमन गरेका छन् । मन्त्री लेखराज भट्टसहितको टोलीले आज बिहान छड्के अनुगमन गरेको हो ।

सो क्रममा अघिल्लो दिनसम्म ७५ रुपैयाँ बेचिएको प्याजको मूल्य आज प्रतिकेजी ११० रुपैयाँमा बिक्री गरेको पाइएको थियो । प्याज लुकाएको, बढी मूल्यमा बिक्री गरेको जस्ता कैफियत पाइएपछि ७ वटा पसल सिल गरिएको र आवश्याक कारबाहीका लागि वाणिज्य विभागको जिम्मा लगाइएको छ ।