इन्द्रेणी संवाददाता
दाङ, २६ भदौ । दाङका व्यवसायीहरुले जिल्लामा जारी निषेधाज्ञा २८ गते पछि नहटाए पनि व्यवसाय सञ्चालन गर्ने निर्णय गरेका छन् ।
दाङ जिल्ला उद्योग वाणिज्य संघ तथा बस्तुगत समितिहरुको आज शुक्रवार वसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले निर्वादरुपमा आ-आफना प्रतिष्ठानहरुमा स्वास्थ्य मापदण्ड पुरा गरी व्यवसाय सञ्चालनको लागि जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने निर्णय गरेको छ । सञ्चालन भएका व्यवसायिक प्रतिष्ठानहरुमा स्वास्थ्य सुरक्षा मापदण्ड पुरा भए नभएको अनुगमन गर्न दाङ उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष टंकसिंह वुढाथोकीको संयोजकत्वमा स्वास्थ्य सुरक्षा अनुगमन समिति गठन गरिएको छ ।
समितिका सदस्यहरुमा संघका सदस्यहरु रामप्रसाद पोख्रेल, मिनराज भाट, टंकप्रसाद पोख्रेल (कमल), त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिका प्रतिनिधि, होटल व्यवसायी समितिका प्रतिनिधि र सबै बस्तुगत समितिका संयोजकहरु सदस्य रहेका छन् ।
बैठक दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षतामा भएको थियो । बैठकमा सहभागी वस्तुगत समितिका अध्यक्षहरुले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर व्यापार व्यवसाय सञ्चालनमा ल्याउनुपर्ने बताएका थिए । उनीहरुले लामो सयमसम्मको लकडाउनले नागरिकहरु रोगले भन्दा भोकले मर्ने अवस्था आएको बताएका थिए ।
बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य धुवराज श्रेष्ठ (भारी), नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं ५ का उपाध्यक्ष हेमराज वञ्जाडे, संघका पदाधिकारीहरु, स्वर्गद्धारी टिप्पर व्यवसायी समितिका अध्यक्ष भाँडा व्यवसायी समितिका अध्यक्ष, राप्ती अञ्चल लिर्कष एशोसियसनका उपाध्यक्ष, दाङ देउखुरी होटेल वयवसायी समितिका अध्यक्ष, सुरक्षित कुखुरा तथा दाना व्यवसायी समितिका अध्यक्ष, हाडवर्यर व्यवसायी समितिका अध्यक्ष, कपडा व्यवसायी समितिका अध्यक्ष, गल्ला तथा किराना व्यवसायी समितिका अध्यक्ष लगायतको सहभागिता थियो ।











