इन्द्रेणी संवाददाता
सल्यान, २२ भदौ । कपुरकोट गाउँपालिकाको एक स्वास्थ्य चौकीमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि सिल गरिएको कपुरकोट बजार क्षेत्र आज दिउँसोदेखि खुलेको छ । गाउँपालिका र सरोकारवालाहरुसँग आज सोमवार विहान भएको छलफलबाट सोमवार १२ बजेदेखि सिल हटाउने निर्णय गरेको हो ।
खुल्ला भएसंगै कपुरकोट गाउँ कार्यपालिकाको कार्यालय, ३ नं वडा कार्यालय, तरकारी बजार तथा कपुरकोट बजार क्षेत्रका सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालय, बैंक, वित्तीय संस्थाले सेवा सुचारु गरेका छन् ।
सरोकारवाला र गाउँपालिकाको परामर्शमा सिल हटाइएकाले अब पहिलेजस्तै आफ्ना काम सुचारु गर्न सबैलाई गाउँपालिकाका अध्यक्ष भिमबहादुर सेन आग्रह गरेका छन् । स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि समुदायमा कोरोना फैलिन नदिनका लागि भदौ १८ गते कपुरकोट बजार क्षेत्र सिल गरिएको थियो ।











