इन्द्रेणी संवाददाता
दाङ, २१ भदौ । दाङमा कोरोनाको जोखिम बढ्न नदिन गरिएको निषेधाज्ञा भदौ २८ गतेसम्म थपिएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिले पहिलेको भन्दा केही स्वरुप परिवर्तन गर्दै भदौ २८ गतेसम्मका लागि निषेधाज्ञाको समय थप गरेको हो ।

ghorahiभदौ १४ गतेदेखि जारी गरिएको निषेधाज्ञामा सबै पूर्णरुपमा बन्द गरिएपनि थप अवधिको निषेधाज्ञामा स्वरुप परिवर्तन गरेर केही खुकुलो गरिएको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

अहिले थप गरिएको अवधिमा दैनिक विहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म सबै प्रकारका पसल तथा व्यवसायहरु खोल्न पाइने छ भने बैंक तथा वित्तीय संघसंस्थाहरु विहान १० बजेदेखि १२ बजेसम्म दैनिक २ घण्टा सञ्चालन हुने छन् ।

त्यसैगरी निजी सवारीका साधनहरु जोरविजोर प्रणालीबाट सञ्चालन हुने छन् भने सार्वजनिक सवारीका साधन भने बन्द नै रहने छन् । भदौ १४ गतेदेखि जारी गरिएको निषेधाज्ञाको समय आज आइतवार राति १२ बजे सकिदैछ ।

जिल्लामा अहिले पनि कोरोना संक्रमणको जोखिम कायमै रहेको निष्कर्षसहित निषेधाज्ञाको समय थप गरिएको भन्दै यसको पालना गर्दै कोरोनाको जोखिम कम गर्न जनस्तरबाट सहयोग गर्न जिल्ला वासीलाई रिजालले आग्रह गरेका छन् ।

दैनिकजसो जिल्लामा कोरोना संक्रमण देखा परेको छ । शनिवार मात्रै दाङमा ३९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो । जिल्लामा अझै करीव १३० सक्रिया संक्रमित छन् ।