इन्द्रेणी संवाददाता
काठमाडौं, २१ भदौ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भष्ट कर्मचारी र ठेकेदारलाई कारवाही गर्ने भएको छ ।
पार्टीका प्रवक्ता प्रकाण्डले बिज्ञप्ति जारी गर्दै गुण्डा, लुटेरा, सुराकी र भगौडासमेतलाई कारवाही गर्ने जनाएका छन् ।
विज्ञप्तिमा पार्टीको नाममा चन्दा आतंक मच्चाउनेलाई पनि कारवाहीको सूचीमा राखिएको छ । देशको उत्पादनलाई धरापमा पार्ने, किसानहरूको टाउकोमा गिर खेल्ने, मल आपुर्ति गर्ने ठेक्का लिएर पुरा नगर्ने कम्पनी एवं ठेकदार र रेलमार्गको निर्माणको नाममा अर्बौं रकमको भ्रष्टाचार गर्ने रेल विभागका महानिर्देशक समेतलाई कारवाहीका सूचीमा राखिएको छ ।
प्रवक्ता प्रकाण्डले कथित पूर्वपश्चिम रेलमार्गको परियोजनाको नाममा काकडभिट्टा–इनरुवा खण्डमा माटो भर्ने योजना सरकारको यातायात मन्त्रालय अन्तर्गतको रेल विभागले ३३ अर्ब माथिको ठेक्का मुआब्जा वितरण नगरी, प्राविधिक एवं आर्थिक मूल्याङ्कन बिनै आफ्नै राज्यको कानुन विपरीत दिएको उल्लेख गरेका छन् ।
यातायात मन्त्रालय, रेल विभागको महानिर्देशक बलराम मिश्र, ठेकेदार एवं कम्पनी शर्मा एण्ड कम्पनीका रमेश शर्मा, गोल्डेन गुड्स कम्पनीका ग्याल्जे शेर्पा, कालिका कम्पनीका विक्रम पाण्डे र लामा कम्पनीका जिपछिरिङ्ग लामा लगायतको गिरोहले ६ अर्बभन्दा माथिको कमिशनको खेल र सेटिङ्गमा नेपाली जनताको सम्पत्ति लुटेको उल्लेख गरेको छ । ‘ठेकेदार गिरोहलाई सरकारले तुरुन्तै कारबाही नगर्ने हो भने नेपाल कम्युनिष्ट पार्टीले कारवाही गर्छ ।’ विज्ञप्तीमा भनिएको छ ।











