इन्द्रेणी संवाददाता
काठमाडौं, १८ भदौ । अन्ततः नेकपाले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभाको सदस्यमा लैजाने भएको छ । आज सम्पन्न सचिवालयको बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभाको सदस्यमा लैजान सहमति जुटेको हो ।
यसअघि पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच गौतमलाई लैजाने कि अहिलेका अर्थमन्त्री युवराज खतिवडालाई निरन्तरता दिने भन्नेमा विमति थियो । तर आजको सचिवालय बैठकबाट गौतमलाई नै राष्ट्रियसभाको सदस्यमा लैजाने टुंगो लागेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
बैठकमा प्रधानमन्त्री ओलीले रिक्त राष्ट्रियसभा सदस्य पदमा सरकारका तर्फबाट राष्ट्रपति समक्ष गौतमको नाम सिफारिस गर्ने जानकारी गराएको प्रवक्ता श्रेष्ठले बताए । सरकारको तर्फबाट गरिएको सिफारिसका आधारमा राष्ट्रियसभा सदस्य राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान छ ।
यसअघि अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडालाईसमेत सरकारको सिफारिशमा राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिले नियुक्त गरेकी थिइन् । खतिवडाको दुई वर्षे कार्यकाल गत फागुनमा नै सकिएको थियो ।











