इन्द्रेणी संवाददाता
प्यूठान, ११ भदौ । समुदायस्तरमा कोरोना संक्रमण फैलिने जोखिम बढेपछि प्यूठानमा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले आज विहीबार राति १२ बजेदेखि लागु हुने गरी भदौ १८ गतेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
निषेधाज्ञाको समयमा विरामी बोक्ने एम्बुलेन्स, प्रेस, दूध, खानेपानीलगायतका अत्यावश्क सवारीका साधनभन्दा अन्य सवारीका साधन सञ्चालन गर्न नपाइने प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिएका छन् । साथै यो अवधिमा अत्यावश्क काम वाहेक हिडडुल समेत गर्न पाइने छैन ।
बैठकले यो अवधिमा अत्यावश्यक खाद्यान्न पसल, तरकारी पसल र डेरी बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खोल्न दिने निर्णय गरेको छ । यसअघि १५ गतेसम्म सार्वजनिक तथा निजी यातायात बन्द गर्ने निर्णय गरिएको थियो ।











