महेन्द्रनगर, ११ भदौ । कञ्चनपुरको पुनर्वास नगरपालिका– ११ अमरबस्तीमा चट्याङ लागेर बुधबार राति एक युवकको मृत्यु भएको छ । मृत्युहुनेमा २७ वर्षीय गणेशबहादुर सिंह रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।
चट्याङ लागेर घाइते भएपछि युवकलाई उपचारका लागि धनगढी लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए । उनले भने,“चट्याङबाट अन्य तीन जना घाइते भएका छन् ।”
उनका घाइते हुनेमा अमरबस्तीका ३० वर्षीय लालबहादुर बोगटी, १६ बर्षीय भावना भुल र ३७ वर्षीय पशुपति सार्की रहेका छन् । उनीहरुको धनगढीमा उपचार भइरहेको छ ।
त्यसैगरी यहाँको कृष्णपुर नगरपालिकामा रहेको मछेली नदीको टापुमा फसेकी कृष्णपुर नगरपालिका–२ का मनुदेवी सार्कीलाई प्रहरीले आठ घण्टापछि सकुशल उद्धार गरी आफन्तको जिम्मा लगाएको जनाएको छ । रासस











