इन्द्रेणी संवाददाता
रुकुम, ८ भदौ । रुकुम पश्चिममा एकैदिन १८ जना कोरोना संक्रमित थपिएपछि सदरमुकाम मुसिकोट खलंगा बजार भदौ १४ गतेसम्मका लागि सिल गरिएको छ ।
आज सोमवार बिहान ४ बजेदेखि १४ गते राती १२ बजेसम्म स्वास्थ्य सेवा कार्यालय सल्लेदेखि खलंगा बजार हुँदै शितलपोखरी चोकसम्म र पिपलनेटादेखि सेरीगाउँ हुँदै ६ नम्बर वडा कार्यालयसम्मको चार किल्ला सिल गरेको जिल्ला प्रशासन कार्यालय पश्चिम रुकुमले जनाएको छ ।
सिल गरिएको समयमा पसल, व्यवसाय, सार्वजनिक यातायात पूर्णरूपमा बन्द रहने छन् । सवारी अनुमतिपत्र लिएका तथा विरामी बोकेका एम्बुलेन्सलगायत अत्यावश्यक सेवाहरू भने सञ्चालन हुन दिने प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले जानकारी दिए ।
त्यहाँ एकैदिन दश जना कर्मचारीसहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पश्चिम रुकुमा हालसम्म ५८ जना कोरोना संक्रमित छन् । जसमा २८ जना सक्रिय संक्रिमित हुन् । ३० जना निको भएर घर फर्किसकेका छन् ।











