काठमाडौं, असार २८।  शिक्षा नियमावली नबन्दा शिक्षा ऐन कार्यान्वयन अन्यौल भएको छ । ऐनमा व्यवस्था भएका विषय नियमावलीमा नहुँदा कार्यान्वयनमा समस्या देखिएको हो । गएको १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गरेपछि शिक्षा ऐन आठौं संशोधन लागु भएको छ ।

2016060563ऐनमा लामो समयदेखिका अस्थायी शिक्षकले सुविधासहित बिदाइ गोल्डेन ह्यान्डसेक पाउने र विद्यालय क्षेत्रको संरचनामा परिवर्तन भई कक्षा १२ देखि प्रवेशिका परीक्षा लागू हुने भनिएको छ ।  ऐन अनुसार विद्यमान प्राथमिक, निम्न माध्यमिक विद्यालय र माध्यमिक विद्यालयको विद्यालय संरचनालाई परिवर्तन गरी कक्षा १ देखि ८ लाई आधारभूत र ८ देखि १२ लाई माध्यमिक शिक्षा तहमा रुपान्तरण गरिएको छ । यसैगरी कक्षा १० मा लिइने विद्यमान प्रवेशिका एसएलसी परीक्षा कक्षा १२ मा लिइने छ भने कम्पनिमा दर्ता गरेर विद्यालय खोल्न पाइने छैन ।

उच्च माध्यमिक शिक्षा परिषद् राष्ट्रिय परीक्षा बोर्डमा रुपान्तरण भएको छ । बोर्डले कक्षा १० र माध्यमिक तहको अन्त्यमा हुने परीक्षा सञ्चालन गर्नेछ । यसलाई कार्यान्वयन गराउन विद्यालय व्यवस्थापन समिति गठन गर्नुपर्छ । यस्तै नियमावलीमा यसबारे विस्तृत रुपमा उल्लेख हुनुपर्छ । कानुन, अर्थ र अरु मातहतका मन्त्रालयले नियमावली तयार गरेपछि मन्त्रीपरिषद् बैठकले पारित गर्नुपर्छ । तर अझैसम्म पनि नियमावली नबन्दा ऐन कार्यान्वयनमा अन्यौलता देखिएको हो ।।