राजेश जीसी
प्युठान, ३१ साउन । सलहले प्यूठान नछाड्दा यहाँका किसान चिन्तित भएका छन् । पछिल्लो समय समस्याको रुपमा देखिएको सलहले किसानले लगाएको बालीनाली सखाप पारेपछि यहाँका किसानहरु चिन्तित भएका हुन् ।

salahसलहको झुण्ड भित्रिएसंगै यहाँको बालीनालीमा ठूलो क्षति पु¥याएको छ । सलह भित्रिदैन भन्दाभन्दै भित्रिएको सलहले प्यूठानमा लगाएको झण्डै ५ सय हेक्टरमा लगाइएको खाद्यान्न बालीमा क्षति पु¥याएको हो ।

सलहले जिल्लाका सबै स्थानीय तहमा लगाइएको बालीमा क्षति गरेको छ भने सबैभन्दा धेरै नौबहिनी गाउँपालिकामा पुर्‍याएको छ ।
प्यूठान भित्रिएको दुई दिनपछि स्यालीबाङ्ग प्रबेश गरेको सलहले एक महिना अगाडिदेखि नै बालीनालीमा क्षति पुर्‍याउदै आएको छ ।
जिल्लाका अन्य स्थानमा फाट्टफूट्ट रुपमा रहेको सलहले स्यालीबाङ्गमालाई भने एक महिनादेखि छाडेको छैन् ।

स्यालीबाङ्गमा किसानले लगाएको मकै, कोदो तथा तरकारी बाली नष्ट गरेको छ । आकाशै ढाक्ने गरी लाखौंको संख्यामा आएको सलहले फल्न थालेका मकै र भर्खरै लगाएका कोदो ठुटै पार्दा किसानहरु रुना मात्र सकेका छैनन् ।

सलहले स्यालिबाङमाका करिब तीन सय किसानले २ हजार रोपनी क्षेत्रफलमा लगाएको बाली सखाप पारेको छ ।
एक महिनासम्म गाउँमै बास बसेको सलहको प्रकोप अन्नबालीमा बढ्दै गएपछि गाउँपालिकाको कृषि शाखाले क्षति पु¥याएको क्षेत्रको अनुगमन गरेको छ ।

नौबहिनी गाउँपालीका १ स्याउलीवागंमा सवैभन्दा धेरै क्षति मकैबालीमा ७५ प्रतिशत र कोदो बालीमा ९० प्रतिशतसम्म क्षति पुर्‍याएको छ ।
सलह प्रकोप बढेपछि गाउँपालिकाले त्यसको प्रकोप कम गर्न सलह जम्मा गर्ने किसानलाई प्रतिकिलो ५० रुपैया दिन थालेको छ ।

सलहले बालीनालीमा क्षति गरेपछि स्थानीयवासीले हालसम्म १ सय ५ किलो सलह नष्ट गरेका छन् । क्षतिको सम्पुर्ण बिवरण आइसकेपछि पिडित किसानलाई राहतको ब्यवस्था गर्ने गाउंपालिकाले जनाएको छ । स्यालीबाङ्गमा रहेका सलहलाई किसानले केही सातादेखि टिपेर नष्ट गर्न थालेका छन् । तर, सलह टिपेर र पैसा लिएर मात्र सलहको समस्या समाधान हुने देखिदैन् ।