काठमाण्डौ, २७ साउन । देशका विभिन्न अस्पतालमा थप ६ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । ललितपुरमा तीन तथा मोरङ, रुपन्देही र सप्तरीमा एक एक जना गरी ६ जनाको ज्यान गएको हो ।
गएराति ललितपुरको पाटन अस्पताल, किस्ट अस्पताल र मेडिसिटी अस्पतालमा उपचार गराइरहेका एक–एक जनाको ज्यान गएको हो । साउन १८ गते अस्पताल भर्ना भएकी ३८ वर्षीया महिलाको आईसीयूमा उपचारका क्रममा पाटन अस्पतालमा ज्यान गएको हो । यस्तै साउन ५ गते भर्ना भएका मेडिसीटी अस्पतालमा उपचार गराइरहेका जनकपुरकै ७१ वर्षिय पुरुषको ज्यान गएको छ ।
त्यसैगरी बुटवलको कोरोना विशेष अस्पतालमा कपिलवस्तु २ तौलिहवाका ४२ वर्षका र कपिलवस्तु कृष्णनगरका २५ वर्षका दुई पुरुषको उपचारको क्रममा राति ज्यान गएको अस्पतालका फोकल पर्सन डाक्टर सुर्दशन थापाले बताए ।
मृत्यु भएका ४२ वर्षका पुरुषमा कोरोना पुष्टि भए पनि २५ वर्षीय पुरुषको भने रिपोर्ट आउँन बाँकी रहेको अस्पतालले बताएको छ । यसैगरी सुनसरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा मोरङको बुढिगंगाा गाउँपालिका २ का ५५ वर्षका पुरुषको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनको संख्या ८९ पुगेको छ ।











