इन्द्रेणी संवाददाता
दाङ, २६ साउन । दाङ जिल्ला उद्योग वाणिज्य संघको अधिवेशन हाललाई स्थगित गरिएको छ । संघको सोमवार वसेको बैठकले अधिवेशन हाललाई स्थगित गर्ने निर्णय गरेको हो ।
सरकारले कोरानाको सङक्रमण फैलन नदिनका लागि कुनैपनि औपचारिक कार्यक्रम गर्ने रोक लगाएको कारण हाललाई साधारण सभा तथा अधिवेशन स्थगित गरिएको संघका महासचिव नरेश कार्कीले जानकारी दिए । कार्कीका अनुसार सरकारले औपचारीक कार्यक्रम गर्ने अनुमति दिए लगतै अधिवेशन गरिनेछ ।
यसअघि भएको अधिवेशन अनुसार संघको वर्तमान कार्यसमितिको तीन वर्षिय कार्यकाल यही साउनमै सकिने भएकाले साउन मसान्तसम्ममा साधारणसभा एवं अधिवेशन गरी सक्नुपर्ने हो । संघले साधारण सभा एवं अधिवेशनको मिति भने तोकिसकेको थिएन ।
यसैबीच बैठकले घोराही क्षेत्रमा पछिल्लो समयमा चोरीका घटना वढ्न थालेकोप्रति यसलाई गम्भीर रुपमा लिदै सुरक्षाको व्यवस्था मिलाउन स्थानीय प्रशासनसंँग माग गरेको छ । बैठक संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षतामा भएको थियो ।











